वर्षाबाट दुई विद्यालय भत्कियोे

02 July 2016 Source: RSS News

बैतडी, १८ असार । बिहीबारदेखिको अविरल वर्षाका कारण शनिबार बैतडीमा दुई विद्यालय भत्किएका छन् ।

अविरल वर्षाका कारण मठैराज गाविस-३ बेलायतपुरमा रहेको चनैराज प्रावि र गाँजरी-८, सुगरखालस्थित केदार निमाविकोे भवन भत्किएका हुन् ।

शनिबार विद्यालयको कार्यालय कक्ष रहेको भवन भत्किएको र कार्यालय कक्षमा रहेको महत्वपूर्ण कागजातमा पानी पसेर क्षति पुगेको चनैराज प्राविका कार्यालय सहयोगी कृष्णदत्त जोशीले जानकारी दिनुभयो ।

विसं २०६८ मा गाविसको आर्थिक सहयोग तथा स्थानीयको जनश्रमदानमा निर्माण भएको विद्यालय भवन पाँच वर्षमै भत्किएको बताइएको छ ।

यस्तै अविरल वर्षाका कारण गाँजरी-८ सुगरखालस्थित केदार निमाविको चारकोठे भवन पनि भत्किएको स्थानीय रोशन विष्टले जानकारी दिनुभयो । भवन भत्किँदा पठनपाठनमा समस्या हुने विद्यालयले जनाएको छ ।

More News