विद्यार्थीले पाठ्यपुस्तक र छात्रवृत्तिको रकम नपाएको गुनासो

23 June 2016 Source: RSS News

जाजरकोट, ९ असार । दीपेन्द्र माध्यमिक विद्यालय ढिमे - ९ घरङ्गमा १० कक्षामा अध्ययनरत छात्रा रविना हमालले पाँच वर्षदेखि छात्रवृत्ति र पाठ्यपुस्तकको रकम पाएकी छ्रैनन् ।

रविनाले विद्यालयमा ६ कक्षादेखि पढ्न थालेको तर अहिलेसम्म पाठ्यपुस्तक र छात्रवृित्त रकम नपाएको गुनासो गरिन । सरकारले उपलब्ध गराउने छात्रा छात्रवृत्ति र पाठ्यपुस्तकको रकम नपाउने रविना मात्र एक्ली छात्रा होइनन् । सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत छात्रा निर्मला शाहीले पनि चार वर्षदेखि पाठ्यपुस्तक र छात्रवृत्ति रकम नपाएको गुनासो गरेकी छन् ।

विद्यालयमा ६ कक्षामा भर्ना भएदेखि उनले छात्रवृत्ति र पाठ्यपुस्तकको पैसा नपाएको बताइन् । यी दुई जना छात्रा मात्र होइन विद्यालयमा अध्ययनरत कुनै पनि विद्यार्थीले धेरै वर्ष अघिदेखि छात्रवृत्ति र पाठ्यपुस्तकको रकम पाएका छैनन् ।

त्यस्तै सरस्वती माध्यमिक विद्यालय पैक - ८ रिजापहाडामा ८ कक्षामा अध्ययनरत छात्रा हिमा आरसीले पनि तीन वर्षदेखि छात्रवृत्तिको रकम नपाएको गुनासो गरिन् । उनले भनिन्, “निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन भन्दै प्रधानाध्यापकले बुझेको भर्पाईमा सहीछाप गराउनु हुन्छ तर रकम दिनुहुँदैन ।” हिमाले भनिन्, “यो विद्यालयमा पढ्न थालेको तीन वर्ष भयो अहिलेसम्म पाठ्यपुस्तक र छात्रवृत्ति रकम पाएकी छैन ।” उनी मात्र होइन सो विद्यालयका कुनै पनि विद्यार्थीले लामो समयदेखि छात्रवृत्ति र पाठ्यपुस्तकको रकम पाएका छैनन् ।

सरकारले १ देखि ८ कक्षासम्मका हरेक छात्रा र दलित वर्गका विद्यार्थीलाई प्रतिविद्यार्थी रु ४०० तथा ९ र १० कक्षाका सबै छात्रा र सबै दलित विद्यार्थीलाई रु ५०० का दरले छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।

त्यस्तै गरिब तथा जेहेन्दार विद्यार्थीलाई रु एक हजार ७०० का दरले माध्यमिक छात्रवृत्ति दिने व्यवस्था गरिएको छ । त्यसैगरी १ देखि १० कक्षासम्मका सबै विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्नको लागि आवश्यक रकम विद्यालयमार्फत दिने गरिएको छ तर ती दुई विद्यालयका एक हजार विद्यार्थी यो सुविधाबाट सात वर्षदेखि वञ्चित हुन पुगेका छन् ।

अभिभावकको सहमति लिएर छात्रवृत्ति र पाठ्यपुस्तकको रकम निजी स्रोतमा राखिएका शिक्षक कर्मचारीलाई तलब खुवाउन प्रयोग गरिएको विद्यालयले जनाएका छन् । दीपेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश आरसीले तीन प्राथमिक र दुई निमावि राहत कोटाको भरमा १० कक्षासम्म सञ्चालन गर्नुपरेकाले समस्या आएको बताउनुभयो । उहाँले पाँच जना शिक्षक निजी स्रोतबाट व्यहोर्ने गरी राखिएकाले उनीहरुलाई तलब खुवाउन छात्रवृत्ति र पाठ्यपुस्तकको रकम अभिभावकको सहमतिमा प्रयोग गरिएको बताउनु भयो ।

“मासिक रु ५५ हजारसम्म तलब निजी स्रोतका शिक्षकलाई दिनुपर्छ विद्यालयको आय स्रोत केही छैन न त अभिभावकले शुल्क तिर्न मान्छन् न त दरबन्दी नै पाइन्छ कसरी चलाउनु” उहाँले विद्यालयको बाध्यता सुनाउनुभयो । जिल्ला शिक्षा कार्यालयका अनुसार सो विद्यालयमा यस वर्ष पाठ्यपुसकमा रु एक लाख ६७ हजार ४० र छात्रवृत्तिमा रु ७२ हजार २०० निकासा भएको छ ।

निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन समस्या उस्तै भए पनि सरस्वती माविका प्रधानाध्यापक केशव आरसीले पाठ्यपुस्तक र छात्रवृत्ति रकम दुरुपयोग नगरेको दाबी गर्नु भयो ।

सो विद्यालयमा पाठ्यपुस्तकमा रु एक लाख २७ हजार ३३४ र छात्रवृत्तिमा रु ७५ हजार २०० निकासा गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालय निरीक्षक यज्ञश्वर खत्रीले कुनै पनि बहानामा पाठ्यपुस्तक र छात्रवृत्तिको रकम हिनामिना र दुरुपयोग गर्न नपाइने बताउनुभयो ।

जुन शीर्षकमा जुन प्रयोजनका लागि गएको हो सोही कार्यमा मात्र प्रयोग गर्नुपर्ने अन्यथा कारबाही हुने उहाँको भनाइ छ । उहाँले सबै विद्यालयले छात्रवृत्ति र पाठ्यपुस्तकको रकम सम्बन्धित विद्यार्थीलाई बुझाएको बिल भर्पाई बुझाउने गरेको बताउनुभयो ।

More News