विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द

26 June 2016 Source: RSS News

मलेखु (धादिङ), १२ असार । हरेक दिन विद्यार्थी बेहोस भई लड्ने गर्न थालेपछि जिल्लाको कुम्पुर गाविसस्थित महाकाली माध्यामिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

एक साताअघिसम्म हरेक दिन तीन÷चार जनाका दरले विद्यार्थी बेहोस हुने गरेको र विद्यालयमा प्राथमिक उपचार गरेर कक्षा सञ्चालन गर्ने गरिएकामा यस हप्ता हरेक दिन १५ देखि २० जनासम्म बेहोस भएर कक्षाकोठामै लड्न थालेपछि विद्यालय प्रशासनले विद्यालय बन्द गरेको हो ।

एकोहोरो टोलाउने, बसेको वा उभिएको स्थानमै ढल्ने, रुने कराउने गर्न थाल्नेजस्ता लक्षण देखिएको विद्यालयका शिक्षक जनक आचार्यले जानकारी दिनुभयो । कक्षा ४ देखि माथिका छात्रा विद्यार्थीमा यस्तो समस्या देखिएको हो ।

एउटा विद्यार्थी बेहोस भएर ढल्ने र त्यसपछि पढाइ नै प्रभावित हुने गरी एक÷एक गरी विद्यार्थीमा यस्तो समस्या देखिएको हो । मास हिस्टेरियाको सम्भावना भए पनि यसै भन्न नसकिने र उनीहरुसँग व्यापक छलफलपछि मात्र समस्याको समाधान गर्न सकिने विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको बैठक बसी विद्यालय बन्द गरिएको र अर्को सूचनापछि मात्र विद्यालय सञ्चालन हुनेछ । वर्षा सुरु भएको र बर्खे बिदाको समयअगावै विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

More News