वीरेन्द्र आदर्श उमाविमा विद्युतीय पुस्तकालय

27 June 2016 Source: RSS News

रत्ननगर (चितवन), १३ असार । पूर्वी चितवनको रापती नगरपालिको वीरेन्द्रनगरमा रहेको वीरेन्द्र आदर्श उच्च माविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ ।

विद्यालयका पूर्वविद्यार्थीसहित विभिन्न देशमा कार्यरत नेपालीबाट सङ्कलन भएको रकमबाट विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो ।

विद्यालयका पूर्वविद्यार्थी तथा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समितिका केन्द्रीय सदस्य गङ्गाराम कँडेलको पहलमा विद्यालयमा पुस्तकालय स्थापना भएको हो । कँडेलले विद्यार्थीको शैक्षिक उन्नतिका लागि विद्युतीय पुस्तकालयमा सहयोग गरिएको बताउनुभयो ।

हाल पुस्तकालयमा २० वटा कम्प्युटर राखिएको छ । सो पुस्तकालयको प्राविधिक व्यवस्थापन नेपाल पुस्तकालय फाउन्डेसन काठमाडौँले गरेको छ । पुस्तकालयमा राखिएका कम्प्युटरमा १० हजार पुस्तक र एक लाखभन्दा बढी जानकारीमूलक सामग्री रहेको नेपाल पुस्तकालय फाउन्डेसन काठमाडौँका कार्यक्रम संयोजक धनकुमार श्रेष्ठले जानकारी दिनुभयो । दश लाखको लगानीमा निर्माण गरिएको सो पुस्तकालयमा कम्प्युटरसँगै फोटोकपी, वेब क्यामेरा, सिसी टिभी जडान गरिएको छ ।

पुस्तकालयलाई केही दिनभित्र सोलार प्रविधिबाट सञ्चालन गर्ने तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक केशवमणि सिग्देलले जानकारी दिनुभयो । पुस्तकालयको व्यवस्थित सञ्चालनका लागि सुरुमा शिक्षकलाई आधारभूत प्रशिक्षण दिइनेछ । विद्यालयमा इलाइब्रेरी खुलेपछि विद्यार्थी र शिक्षकमा ज्ञान र सीपको विकास हुने तथा नयाँनयाँ विषयको खोजीमा लाग्दा शैक्षिकस्तर पनि विकास हुने अपेक्षा गरिएको छ ।

More News