अवैध बालगृहबाट सात बालिकाको उद्धार

21 July 2016 Source: RSS News

रत्ननगर (चितवन), ६ साउन । चितवनमा बिनादर्ता सञ्चालन भइरहेको अवैध बालगृहबाट सात बालिकाको उद्धार गरिएको छ ।

स्थानीय प्रशासनको निर्देशनसमेत नमानी कानुन विपरीत सञ्चालन गरिएको पिस नेपाल नामको बालगृहमा रहेका सात बालिकालाई उद्धार गरी आदर्शगृह चितवनमा राखिएको छ ।

चितवन प्रशासन कार्यालय, प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयको एक टोलीले बुधबार साँझ उनीहरुलाई उद्धार गरेको महिला तथा बालबालिका कार्यालय चितवनका बाल संरक्षण अधिकृत महेशराज पौडेलले जानकारी दिनुभयो ।

स्थानीयवासी सुनिता लोहनीको घरमा भाडा लिएर यसरी अवैध बालगृह सञ्चालन भएको पाइएको हो ।

उद्धार गरिएका बालिकामा चितवनको सिद्धिका १० वर्षीया सरिता चेपाङ र ११ वर्षीया सोनी चेपाङ, हुम्लाका ११ वर्षीया रुपा रावत, नौ वर्षीया पारशी बुमी र ११ वर्षीया रणशोभा रावत, नवलपरासीकी नौ वर्षीया अस्मिता सुनार र अर्की नौ वर्षीया प्रसस्ती सुनार रहेका छन् ।

ती बालिकाहरु चितवन माविमा कक्षा १ देखि ३ सम्म पढ्दै आएका छन् । उनीहरुलाई आदर्शगृहबाटै पठनपाठनको व्यवस्था गरिने गृहकी मीना खरेलले बताउनुभयो ।

यसअघि मङ्गलबार बालगृहका सञ्चालक प्रतीक सुनारलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही सुरु गरेको हो । साइनबोर्डसमेत नराखी बालगृह सञ्चालन भइआएको थियो ।

नियमानुसार दर्ता गरी बोर्डसमेत राख्नुपर्ने र बाहिरी जिल्लाका बालबालिका ल्याउँदा अनुमति लिनुपर्ने हुन्छ ।

"कुनै प्रक्रिया पूरा गरेको देखिएन," चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले भन्नुभयो - "त्यसैले उद्धार गर्नुपर्यो ।" ती बालबालिका दुई जना मात्रै चितवनका छन् भने अन्य विभिन्न बाहिरी जिल्लाका छन् ।

स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार जिल्ला सदरमुकाम भरतपुर उपमहानगरपालिका वडा नं १० ढुङ्गानाचोकमा रहेको उक्त बालगृहमा बालिकालाई बिहान जबर्जस्ती इसाई धर्म सिकाउने गरिएको थियो ।

यो बालगृह विगत दुई वर्षदेखि लुकीछिपी सञ्चालन गरिएको पाइएको छ । जिल्लामा सञ्चालित बालगृहमा पटक पटक गरिएको अनुगमनका क्रममा सुधार गर्न दिइए पनि निर्देशनको अटेर भइरहेको छ ।

जिल्लाका बालगृहमा पटक पटक अनुगमन गर्दा क्षमताभन्दा बढी बालबालिका राख्ने र बालबालिकालाई पोषणको अभाव हुने गरेको पाइएको छ । जिल्लामा ३२ बालगृह सञ्चालनमा छन् ।

More News