सडक बालबालिकालाई 'अनौपचारिक शिक्षा'

04 July 2016 Source: RSS News

रत्ननगर (चितवन), २० असार । चितवनमा प्रहरीको अनुवाइमा पुनःस्थापनाको प्रक्रियामा लगिएका सडक बालबालिकालाई 'अनौपचारिक शिक्षा' दिन थालिएको छ ।

नागरिक प्रहरी अभियान (पिटुसिटु) अन्तर्गत पुनःस्थापनाको प्रक्रियामा रहेका ३५ जनालाई अनौपचारिक शिक्षा दिन थालिएको चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

अन्य तीनजनालाई परिवारमा पुनः मिलन गराइएको छ भने दुईजना प्रक्रियाभन्दा बाहिर छन् । "गत वैशाखमा उनीहरुलाई गृहप्रवेश गराइएकामा अहिले तीन वर्ष अनौपचारिक कक्षा सुरु गरेका छौँ", कुँवरले भन्नुभयो, "तीन वर्षपछि उनीहरुलाई सोझै क्षमता हेरेर ६-७ मा भर्ना गर्न मिल्ने सरकारी प्रावधान छ ।"

हाल उनीहरुलाई चितवनको मङ्गलपुरस्थित आनन्दपुर राप्राविमा रहेको छात्रावासमा राखेर शिक्षा दिन थालिएको छ ।

मोरङ घर भएका १६ वर्षीय निर्जल थापा डेढ वर्ष सडकमा पुगे । बुबाले सधैँ मदिरा पिएर आमालाई कुट्ने गरेपछि उनी घर छाडेर हिँडेका हुन् । "जे पायो खान्थेँ, चोर्थें, सडकमा हिँड्थें" निर्जलले भने ।

अघिल्लो वर्ष एक दिन हिँड्दा हिँड्दै प्रहरीलेसमाएर भ्यानमा हाल्यो । पहिले प्रहरीले कुटने गरेकाले प्रहरीदेखि तर्सिएँ । "चौकी लान्छ कि भनेर डराएको थिएँ, पुनःस्थापनमा पो लग्यो" उनले विगत सम्झँदै भने, "त्यो बेला र अहिलेले कति फरक कति ?", उनले भने, "अब म त शिक्षक बनेर पढाउने, शिक्षा दिने हो, अब कसैलाई पनि बरालिएर हिँड्न दिन्न ।"

उनीसँगै हिँड्ने नौ वर्षका प्रवीन खनालको पनि दैनिकी उस्तै थियो । करिब ६ महिना मात्रै सडकमा पुगेका थिए खनाल । आमाबुबा पहाड घुम्न जाँदा एक्लै छाडेपछि खाने लगाउने खर्चसमेत नभएर सडकमा आइपुगेको प्रवीनको भनाइ छ ।

"पुनः स्थापना केन्द्रमा बसेपछि अहिले राम्रो भयो", खनालले भने, "बस्न पा छ, खान पा छ, राम्रो राम्रो लाउन पा छ, क्यारिमबोर्ड पा छ, एउटै खाटमा सुत्न पनि पा छ ।" पाइलट बन्ने सोच राखेका प्रवीनले बताए । यसरी जिल्लाका विभिन्न सडकमा प्लास्टिक टिपेर फोहर बटुल्दै अनि सडकमै जीवन बिताउने ३९ बालक र एक बालिकाको यहाँ प्रहरीकै अगुवाइमा उद्धार भएपछि उनीहरुको जीवन परिवर्तन भएको छ ।

विगतमा चितवनका सात र गैँडाकोटको एक गरी कुल आठवटा सुधारगृहमा राखेर उनीहरुलाई बानी सुधार गरी अनौपचारिक शिक्षा दिन थालिएको हो । उक्त अभियानकी फिल्ड संयोजक मीना खरेल उनीहरुलाई पढाएर आत्मनिर्भर बनाउने योजना रहेको जानकारी दिनुभयो । सामाजिक दुव्र्यवहार र अभिभावक जिम्मेवार नहुँदा बालबालिका सडकमा आउने गरेको अध्ययनले देखाएको छ ।

More News