विद्यालय व्यवस्थापन समिति खारेज गर्न नहुने

19 July 2016 Source: RSS News

नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति सङ्घले सामुदायिक विद्यालयमा बनेका व्यवस्थापन समितिलाई खारेज नगर्न माग गरेको छ ।

सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आधुनिक तथा गुणस्तरीय शिक्षाका लागिसमेत व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण हुने भएकाले समिति खारेज गर्न नहुने बताएको हो ।

शिक्षा ऐन, २०२८ को आठौँ संशोधनले सामुदायिक विद्यालयबाट व्यवस्थापन समिति खारेज गर्ने निर्णय गरेको समाचार एक राष्ट्रिय दैनिकमा प्रकाशित भएकाप्रति सङ्घको ध्यानाकर्षण भएको सङ्घका अध्यक्ष मणिराम गिरीले बताउनुभयो ।

उहाँले व्यवस्थापन समितिको नियमित प्रत्येक तीन वर्षमा नयाँ व्यवस्थाबमोजिम गठन हुँदै जाने विधिसम्मत प्रक्रियाका विरुद्ध शैक्षिक सत्रको बीचमा व्यवस्थापन समिति विघटन गर्ने निर्णय गरिनुले आफूहरु स्तब्ध भएको बताउनुभयो ।

हाल देशभर ३५ हजार सामुदायिक विद्यालयमा व्यवस्थापन समिति रहेको जानकारी दिँदै उहाँले उक्त समिति विघटन हुँदा विद्यालय र शैक्षिक प्रशासन कमजोर हुने बताउनुभयो ।

प्रमाणीकृत ऐनप्रति आफूहरुको सम्मान रहेको भन्दै उहाँले सामुदायिक विद्यालयमा अविच्छिन्न व्यवस्थापन समितिको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

More News