नेपालमा विपद्’ पुस्तक सार्वजनिक

06 July 2016 Source: RSS News

काठमाडौँ, २२ असार । बाढी, पहिरो, खडेरीजस्ता प्राकृतिक घटना तथा महामारी, आगलागी, दुर्घटनाजस्ता गैरप्राकृतिक घटनाले नेपाल बहुप्रकोप भोग्ने मुलुकको सूचीमा रहे पनि त्यसबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेतर्फ ठोस प्रयास गर्न असमर्थ रहेबाट बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ ।

प्राकृतिक र गैरप्राकृतिक विपद् व्यवस्थापनका सैद्धान्तिक पक्षलाई उजागर गर्दै २०७१ सालमा भएका मुख्य सातवटा विपद्का घटनालाई चित्रण गरी जलस्रोत तथा विपद्विज्ञ अजय दीक्षितले लेख्नुभएको नेपालमा विपद् पुस्तकले नेपालमा विपद्को यथार्थ अवस्थालाई झल्काउन खोजेको छ ।

पुस्तकमा सगरमाथामा हिमपहिरो, जुरे पहिरो, मध्यपश्चिम नेपालमा आएको बाढी, हिमआँधी र असिनाजस्ता प्राकृतिक विपद् तथा जाजरकोटको महामारी, टर्किस विमान दुर्घटना, आगलागी र सडक दुर्घटनाजस्ता गैरप्राकृतिक प्रकोपका कारण भएका क्षति र भविश्यमा त्यस्ता प्रकोपबाट बच्न अपनाउनुपर्ने सावधानीलाई व्याख्या गरिएको छ ।

माथि उल्लेखित पाँचवटा प्राकृतिक प्रकोप प्राकृतिक प्रक्रियासँग जोडिएको भए पनि दुर्घटना गैरप्राकृतिक प्रकोप नेपालको सामाजिक संरचना, अशिक्षा, विपन्नता र कमजोर स्वास्थ्य सेवा र शासन प्रणालीजस्ता कारणले उत्पन्न विपद्को रुपमा लेखकले प्रष्ट्याउनुभएको छ ।

प्राकृतिक प्रकोप व्यवस्थापन कार्य सही हिसाबले अगाडि लैजान व्यवस्थापकीय क्षमता सम्बद्र्धनका लागि जलविद्युत्, भूगर्भ विज्ञान र इन्जिनियरिङका ज्ञानसँगै समाज र राजनीतिक विषयको समायोजनको आवश्यकतामा पुस्तकले जोड दिएको छ ।

पछिल्लो समय जलवायु परिवर्तनबाट सिर्जित हिमताल विस्फोट, हिम पहिरो, हिमआँधी, सुक्खा, बाढी, पहिरोजस्ता प्रकोपका घटना बर्सेनि बढ्न थालेको र अप्राकृतिक प्रकोपका घटना पनि दोहोरिँदै गएको सन्दर्भमा सरकारले ल्याउने योजना नीति कार्यक्रम प्रभावकारी बन्न नसकेकामा लेखकले चिन्ता व्यक्त गर्नुभएको छ ।

नेपालले दिगो विकास, जलवायु परिवर्तनसम्बन्धी पेरिस सहमति र सेन्डाई अवधारणाजस्ता विपद् चुनौतीसँगै आर्थिक विकासका एजेन्डामा सहमति जनाइसकेको अवस्थामा विपद्बाट हुने क्षतिको न्यूनीकरण र मुलुकको समृद्धिका लागि विपद् व्यवस्थापनका आयमलाई सामाजिक र राजनीतिक क्षेत्रबाट पनि हेर्नुपर्ने पुस्तकले सुझाएको छ ।

आइसेट नेपाल, एक्सन एड नेपाल र प्राक्टिकल एक्सनको संयुक्त प्रयासमा प्रकाशित सो पुस्तकको लोकापर्ण समारोहमा सहभागी वक्ताहरुले नेपालमा बर्सेनि हुने विपद्को विभिन्न आयामको बारेमा चर्चा गर्दै नीतिनिर्माता, नागरिक समाजका लागि विपद् व्यवस्थापनका विषयमा कार्य गर्न पुस्तकले मार्गदर्शन गर्ने बताउनुभयो

कार्यक्रममा साहित्यकार प्रा डा अभि सुवेदी, खाद्य सुरक्षा एवम् लैङ्गिक समता अध्येता यमुना घले, आर्थिक व्यवस्था विश्लेषक अर्पिता नेपाल, नीति विश्लेषक डा हीरामणि घिमिरे र व्यवस्थापन विज्ञ आशुतोष तिवारीले पुस्तकको सामूहिक लोकार्पण गर्नुभएको थियो ।

उहाँहरुले गोरखा भूकम्पपछि पनि सरकारले भूकम्पपीडितलाई उचित राहत दिन नसकेकाले जनविश्वास घट्दै गएको, विपद्को पूर्वतयारी, उद्दार र पुनःस्थापना हुन नसकेको भन्दै विपद्ले ल्याउने सामाजिक, लैंगिक पक्षलाई पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

विपद् व्यवस्थापन र विकाससँग सम्बन्धित विषयवस्तुलाई समेटी तयार गरिएको सो पुस्तकको मूल्य रु ५०० रहेको छ भने शिक्षक मासिक पत्रिकाले वितरण गर्नेछ । पुस्तक बिक्रीबाट प्राप्त रकम विपद् व्यस्थापनबारे अनुसन्धानात्मक लेख प्रकाशनमा खर्च गरिने जनाइएको छ ।

More News