नारच्याङ साक्षर गाविस घोषित

14 December 2016 Source: RSS News

बाबियाचौर (म्याग्दी), २९ मङ्सिर । म्याग्दीको नारच्याङलाई साक्षर गाविस घोषणा गरिएको छ । गाउँ शिक्षा समितिले बेसीगाउँमा आयोजना गरेको एक कार्यक्रममा मङ्गलबार उक्त घोषणा गरिएको हो ।

शिक्षा मन्त्रालयले लक्षित जनसङ्ख्याको ९५ प्रतिशतले अङ्क, अक्षर, लेखपढ गर्न सक्ने भएमा साक्षर घोषणा गर्न सकिने व्यवस्था गरेको छ । गाविसमा रहेका ६० वर्षभन्दा कम उमेरका एकहजार चारसय जनाको ९५.४५ प्रतिशत साक्षर भएपछि घोषणा गरिएको गाविस सचिव दीर्घप्रसाद गौतमले जानकारी दिनुभयो ।

गाविस सचिव गौतमको अध्यक्षता, सर्वोदय मावि भुरुङ तातोपानीका स्रोतव्यक्ति जयराम सुवेदीको प्रमुख आतिथ्यता र प्रभा माविका प्रअ भगवानबहादुर कार्कीको सञ्चालनमा सम्पन्न घोषणा कार्यक्रममा गाउँ शिक्षा समितिका पदाधिकारी, शिक्षक, राजनीतिक दलका प्रतिनिधि र अगुवाको उपस्थिति रहेको थियो ।

यसअघि म्याग्दीको बरञ्जा, मराङ, पात्लेखेत, कुहु र घारलाई साक्षर गाविस घोषणा गरिएको थियो । म्याग्दीलाई यसै आर्थिक वर्षभित्र साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको शिक्षा कार्यालयले जनाएको छ । 

More News