तीन सय शिक्षकको व्यवस्थापन

28 July 2016 Source: RSS News

जिल्ला शिक्षा कार्यालय रौतहटले यो वर्ष ३०० भन्दा बढी शिक्षकको व्यवस्थापन गरेको छ ।

लामो समयदेखि आवश्यक दरबन्दी व्यवस्थापन हुन नसक्दा प्रभावित बनेको रौतहटको शिक्षा क्षेत्रमा यो वर्षदेखि सो समस्या सुल्झिएको छ ।

विसं २०५७ देखिको समस्या यो वर्षदेखि समाधान भएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ ।

उक्त कार्यालयका अनुसार जिल्लाका विभिन्न नगरपालिका तथा गाविसमा रहेका सामुदायिक विद्यालयअन्तर्गत मावि तहमा २७ जना, निमावि तहमा २९ जना र प्रावि तहमा २६७ जना शिक्षक दरबन्दीसहित शिक्षक व्यवस्थापन गरिएको छ ।

शिक्षक व्यवस्थापनपछि विद्यालयमा हाजिर नै नभई काज सरुवा गरी घर पायक बसेर तलब खाने गलत परिपाटीको अन्त्य हुने विश्वास गरिएको छ ।

तत्कालीन जिल्ला शिक्षा अधिकारी भरतबाबु सुवेदीको सक्रियतामा शिक्षक दरबन्दी तथा व्यवस्थापन गर्ने निर्णयअनुसार शिक्षक व्यवस्थापनमा जिल्लाभरिका सम्पूर्ण सभासद्हरु, विभिन्न राजनीतिक दलका सभापतिहरु, सम्पूर्ण शिक्षक सङ्घ सङ्गठनको सुझावबाट नै शिक्षक व्यवस्थापनको काम सम्भव भएको जिशिअ हरि बस्तीले बताउनुभयो ।

More News