लुम्बिनी बौद्ध विश्वविद्यालयले स्नातक तहको कक्षा सञ्चालन गर्ने

24 June 2016 Source: RSS News

काठमाडौँ, १० असार । लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आव २०७३-७४ देखि स्नातक तहको कक्षा सञ्चालन गर्ने भएको छ ।

बौद्ध दर्शन तथा साहित्यको शैक्षिक अध्ययन तथा अनुसन्धानलाई फैलाउन विश्वविद्यालयले स्नातक तहमा अध्ययन गराउन गृहकार्य सुरु गरेको छ । करिब ११ वर्षअगाडि स्थापना भएको उक्त विश्वविद्यालयले तीनवर्ष अगाडिदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन गरी औपचारिक रुपमा अध्ययन तथा अध्यापन सुरु गरेको थियो ।

त्यसैगरी, विश्वविद्यालयले जुनसुकै विषयमा स्नातकोत्तर पूरा गरेका इच्छुक विद्यार्थीलाई विद्यावारिधिका अनुसन्धानका कार्यसमेत गराउँदै आएको छ ।

सोही विश्वविद्यालयले अहिलेसम्म विभिन्न पाँच कलेज तथा विहारलाई सम्बन्धन प्रदान गरी स्नातकोत्तर तहको कक्षा सञ्चालन गराउँदै आएको छ । स्नातकोत्तर तहमा थेरवाद सम्प्रदायको विषय अध्यापन भएकामा अब महायान बौद्ध सम्प्रदायको समेत अध्यापन गराइनेछ ।

विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचार्यले उक्त संस्थालाई बौद्ध दर्शनको खोज गर्ने महत्वपूर्ण स्थलका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

More News