काठमान्डु पोस्ट शैक्षिक मेला आजदेखि

22 July 2016 Source: eKantipur News

उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई लक्षित गर ‘दी काठमान्डु पोस्ट करिअर एडु फेयर’ शुक्रबार सुरु हुँदै छ। कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी प्रकाशन ‘दी काठमान्डु पोस्ट’ दैनिकले आयोजना गर्दै आएको शैक्षिक मेलाको यो चौथो संस्करण हो। मेला राजधानीको भृकुटीमण्डपमा तीन दिनसम्म चल्नेछ। १ सय ३० स्टल र १३ प्याभिलियन रहनेछन्।

यो शैक्षिक मेलाबाट विद्यार्थीले स्वदेश र विदेशको शिक्षा प्रणालीबारे बुझ्न सक्नेछन्। विद्यार्थीलाई तत्कालै लक्ष्यमा पुग्न सहयोग मिल्नेछ। ‘सूचना प्रविधिले विश्व एक ग्रामका रूपमा विकास भइरहेको बेला शिक्षाबारे नेपाली विद्यार्थीलाई सही समयमा अधिकतम जानकारी गराउने लक्ष्य राखिएको छ,’ काठमान्डु पोस्टका सम्पादक अखिलेश उपाध्यायको कथन छ। पोस्टले नियमित रूपमा कलेजियन र क्लासरुम शिक्षा पृष्ठमा प्रकाशन गर्दै आएको छ।’

शैक्षिक मेलामा विद्यार्थीले प्रेरणामूलक करिअर काउन्सेलिङ, मोटिभेसनल स्पिच र सेलिब्रेटीहरूसित अन्तरक्रिया गर्न सक्नेछन्। दैनिक तीनवटा सेमिनार हुनेछन्। त्यसैगरी छात्रवृत्तिको अवसर लिन सक्ने छन्। सहभागीलाई दैनिक लक्की ड्रबाट गिफ्ट हयाम्पर प्रदान गरिनेछ। विद्यार्थीलाई जानकारी दिन स्वदेशी शैक्षिक संस्था तथा कलेजहरू, विदेशी कलेजहरू र परामर्शदातृ संस्थाहरूका प्रतिनिधि रहने छन्। शैक्षिक मेलाको प्रमुख प्रायोजक लर्ड बुद्ध एजुकेसन फाउन्डेसन रहेको छ।

उक्त फाउन्डेसनले मलेसियाको सम्बन्धनमा बीएस्सी सीएसआईटी र बीबीएम कार्यक्रम स्वदेशमै सुचारु राखेको छ। त्यसैगरी हेराल्ड कलेज सहप्रायोजक, प्रायोजक आईएसटी कलेज तथा सपोर्टरमा पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ नेपाल रहेको छ।

‘हामी शैक्षिक मेलाको सम्पूर्ण तयारी गरिसकेका छौं,’ लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका कार्यकारी निर्देशक पंकज जलानले भने, ‘यसपटक प्लस टुको माक्र्सको आधारमा विद्यार्थीलाई छात्रवृत्ति दिँदै छौं। फस्ट कम फस्ट प्रायोरिटीमा दसदेखि शतप्रतिशत छात्रवृत्ति पाउनेछन्।’

यस पटक अमेरिका पढ्न जाने विद्यार्थीका निम्ति आवश्यक जानकारी दिन यूएस भिसा सेन्टरका प्रतिनिधिसमेत उपस्थित रहनेछन्। तीन दिनसम्मै विद्यार्थीले स्वदेश र विदेशका शैक्षिक कार्यक्रम, छात्रवृत्ति, भिसा प्रक्रियाबारेमा जानकारी लिन सक्नेछन्।

More News