गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना

17 June 2016 Source: RSS News

नवलपरासी । नवलपरासीमा गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका लागि जनता उच्च मावि विष्णुनगरका भूतपूर्व विद्यार्थीले रु एक लाख ५० हजार बराबरको अक्षयकोष स्थापना गरेका छन् ।

आफूले अध्ययन गरेको विद्यालयको गुणस्तरीय शिक्षाका लागि जनता उच्च मावि कावासोती नगरपालिका – ६ विष्णुनगरबाट २०६२ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीले रु एक लाख ५० हजार बराबरको अक्षयकोषको स्थापना गरेका हुन् ।

विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार, अपाङ्ग तथा अशक्त विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले भूतपूर्व विद्यार्थीको पहलमा अक्षयकोष स्थापना गरिएको पूर्व विद्यार्थी किरण भुर्तेलले जानकारी दिनुभयो ।

स्वर्गीय गोपाल भुसाल एवम् सम्पूर्ण स्वर्गवासी भूपू विद्यार्थीको स्मृति अक्षयकोष नामाकरण गरिएको उक्त अक्षयकोषमा भूतपूर्व विद्यार्थीले सङ्कलन गरेको नगद रु एक लाख र स्व गोपाल भुसालको परिवारको नगद रु ५० हजार गरी कोष स्थापना गरिएको हो ।

भूतपूर्व विद्यार्थीको प्रयासबाट नै विद्यालयमा आगामी दिनमा विभिन्न किसिमका शैक्षिक क्रियाकलाप सञ्चालन गरिने उमेश डुम्रेले जानकारी दिनुभयो ।

अध्ययन तथा रोजगारीका लागि विभिन्न क्षेत्रमा रहेका विद्यार्थीले विद्यालयको शैक्षिक प्रगतिका लागि आगामी दिनमा थप नयाँ कार्यक्रमसमेत सञ्चालन गर्ने जनाएका छन् ।

More News