बालगृह सञ्चालक पक्राउ

20 July 2016 Source: RSS News

दर्ता नगरी सञ्चालन गरिएको पाइएपछि एक बालगृहका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको भरतपुरमा रहेको पिस नेपाल नामको बालगृह सञ्चालन गर्दै आएका सञ्चालक प्रतीक सुनारलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो ।

मङ्गलबार साँझ गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । आजबाट थप अनुसन्धानको प्रक्रिया सुरु हुने जनाइएको छ ।

विगत दुई वर्षदेखि यहाँ दर्ता नै नगरी बालगृह सञ्चालन गरिएको र नियम विपरीत धर्म प्रचार गरिएको समेत पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । यहाँ अहिले आठ जना बालबालिका राखिएको छ ।

जिल्लामा सञ्चालित बालगृहमा पटकपटक गरिएको अनुगमनका क्रममा सुधार गर्न दिइएको निर्देशन अटेर गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

चितवनमा सञ्चालित बालगृहमा क्रिश्चियन धर्मको प्रचार, क्षमताभन्दा बढी बालबालिका राख्ने र बालबालिकालाई पोषणको अभावलगायतका समस्या अनुगमनमा पाइएको चितवन प्रशासनले जनाएको छ ।

पटकपटक यहाँका बालगृहको अनुगमन गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । केही बाललगृह मापदण्ड विपरीत सञ्चालन भएको, बढी बालबालिका राखिएको, जिल्ला बाहिरका बालबालिका ल्याउँदा कानुनी प्रक्रिया पूरा गर्नुपर्नेमा नगरिएको, मापदण्ड नपुगेको लगायतका समस्या देखिएको सिंहले बताउनुभयो । जिल्लामा ३२ बालगृह सञ्चालनमा छन् ।

More News