भूकम्प प्रभावित बालबालिकाको पठनपाठनका लागि सामूहिक खेती

08 July 2016 Source: RSS News

रत्ननगर ९ चितवन, २४ असार । दक्षिण चितवनको माडीमा भूकम्पपीडित बालबालिकाको खाना तथा पठनपाठनका लागि आर्थिक सङ्कलनको जोहो गर्न सामूहिक खेती सुरु भएको छ । स्थानीय विभिन्न व्यक्तिले निःशुल्क रुपमा काम गर्न दिइएको १५ कट्ठा जग्गामा खेती सुरु भएको हो ।

सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित स्कुलले यो पटक पहिलो चरणमा उक्त जग्गामा रोपाइँसमेत गरेको स्थानीयवासी सन्तोष पनेरुले जानकारी दिनुभयो ।

स्कुलमा भूकम्प प्रभावित काभ्रेकी अरुणा तामाङ, गोर्खाका अरुण गुरुङ र सिर्जना घले, चितवनकी विपना चेपाङ तथा सिन्धुपाल्चोकका सोनाम नेपाली आवासीय रुपमा पठनपाठन गरिरहेका छन् ।

भूकम्पमा परी परिवार गुमाएर अनाथ बनेका बालबालिकालाई आवासीय रुपमा पठनपाठनका लागि खेती गरिएको हो । हाल भूकम्पपीडित ती बालबालिका माडीको दिवाकर स्मृति विद्यालयमा पठनपाठन गरिरहेका छन् ।

यहाँ सञ्चालित भूकम्पबाट प्रभावित बनेका बालबालिकाको आवासीय अध्यापन परियोजनाअन्तर्गत उक्त खेती सुरु भएको विद्यालयका अध्यक्ष तथा परियोजना संयोजक ओमनाथ पाण्डेले जानकारी दिनुभयो ।

उनीहरुलाई वर्षभरि खानाको जोहो गर्न खेती लगाइएको विद्यालयले जनाएको छ । यहाँ विद्यार्थीका लागि पठनपाठन र आवास गरेर प्रतिविद्यार्थी करिब रु एक लाख ५० हजारको अनुमान गरिएको पाण्डेले बताउनुभयो ।

खानाको जोहोका लागि गरिएको सामूहिक रोपाइँमा इलाका प्रशासन कार्यालय, माडीका प्रमुख कृष्ण सुवेदी र इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपककुमार कार्कीसहित माडीका सामाजिक एवम् राजनीतिक अगुवाहरुको सहभागिता रहेको थियो ।

वसन्तपुर बजार, पिपरिया एवम् नयाँ पिपरिया गाउँ तथा माडीका विभिन्न बस्तीबाट स्वतःस्फूर्त रुपमा महिला, दिवाकर स्मृति विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय व्यवसायी र किसानको सहभागितामा रोपाइँ भएको हो ।

माडीकै शैक्षिकस्तरमा अब्बल मानिएको उक्त स्कुलमा गरिब द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ।

More News