निजी धाउने सरकारी प्रध्यापकमाथि निगरानी

21 July 2016 Source: RSS News

चितवन, ६ साउन । सरकारी क्याम्पसमा हाजिर गरेर निजीमा धाउने प्राध्यापकमाथि स्थानीय प्रशासनले निगरानी थालेको छ ।

त्रिविका आङ्गिक क्याम्पसहरु वीरेन्द्र बहुमुखी क्याम्पस, रामपुर कृषि क्याम्पस, कृषि तथा वन विश्वविद्यालयको रामपुरमा रहेको क्याम्पस, सिटिइभिटीको स्कुल अफ हेल्थ साइन्स र सामुदायिक विद्यालयमा स्थायी, अस्थायी र करारमा तलब बुझ्ने तर अधिकांश समय निजी शिक्षण संस्थामा पढाउने प्राध्यापकमाथि प्रशासनले निगरानी बढाएको हो ।

अधिकांश प्राध्यापकले सरकारी क्याम्पसमा हाजिर गरेर निजी धाउने गरेको जनगुनासो बढेपछि स्थानीय प्रशासनले सबै शिक्षण संस्थाबाट प्राध्यापकको सूचीसहित पढाउने समयको विवरण माग गरेको छ ।

जिल्लामा निजी १९ उच्च मावि, ४६ सामुदायिक उच्च मावि र १७ वटा सामुदायिक क्याम्पस रहेका छन् । यहाँ खुलेका अधिकांश निजी उमावि भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापकले सञ्चालन गरेका छन् ।

वीरेन्द्र बहुमुखी क्याम्पसमा मासिक रु ५० हजार तलब बुझ्ने र निजी उमाविका कार्यक्रम संयोजक बनेर ब्रोसर, पम्प्लेट तथा सञ्चारमाध्यममा तस्बिर राखेर प्रचारप्रसार गरेकोसमेत पाइएको छ ।

वीरेन्द्र बहुमुखी क्याम्पसकी प्रशासन प्रमुख शारदा पौडेलका अनुसार, त्यहाँ कार्यरत करिब २०० स्थायी, करार प्राध्यापकले निजी र सामुदायिक विद्यालयमा पढाउँदै आएका छन् । स्नातक पढाउने प्राध्यापकले हप्तामा १५ घन्टी र स्नातकोत्तर पढाउनेले १२ घन्टी पढाउनुपर्ने हुन्छ ।

उनीहरुले आफ्नो कक्षा लिने र तत्काल अर्काे निजी क्याम्पसमा पढाउने गर्दछन् । यस्ता प्राध्यापकले ७ - ८ वटा उमाविसम्म पढाउने गरेको स्वयम् प्राध्यापक बताउँछन् । उनीहरुलाई "हेल्मेट टिचर" को संज्ञा दिने गरिन्छ ।

वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख गोविन्द सापकोटाका अनुसार विश्वविद्यालयको नियमअनुसार क्याम्पसले तोकेको समयमा बाहिर पढाउन पाँइदैन । अन्य समयमा पढाउनु पर्दा अनुमति लिनुपर्ने हुन्छ । त्यसरी अनुमति लिएर पढाउनेको संख्या कमै मात्र छ ।

चितवनका प्रजिअ विनोदप्रकाश सिंहले जनगुनासो बढेपछि सबै उमावि र क्याम्पसमा पत्राचार गरी प्राध्यापकको विवरण र पढाउने समय माग गरिएको बताउनुभयो । त्यसरी सरकारी तलब खाएर निजी धाउने प्राध्यापकमाथि करबाही हुने उहाँको भनाइ थियो ।

स्थानीय प्रशासनले कडाइ गरेपछि यहाँका सरकारी अस्पतालका चिकित्सक पनि कार्यालय समयमा बाहिर धाउन छाडेका छन् ।

More News