बोटे बालबालिका विद्यालयमा नियमित हुन सकेनन्

09 January 2017 Source: RSS News

पाल्पा, २५ पुस । आर्थिक रुपमा विपन्न बोटे समुदायका बालबालिकालाई विद्यालयमा आकर्षण गर्न दैनिक खाजा कार्यक्रम सञ्चालन गरे पनि अझै नियमित हुन सकेका छैनन् ।गरिबी र परिवारमा पढनुपर्ने चेतनाको कमीका कारण बोटे बालबालिकाको पढाइ नियमित हुन नसकेको हो । बोटे समुदायका बालबालिका आकर्षण कार्यक्रम अर्थपूर्ण हुन सकेको छैन ।

पाल्पा जिल्लाको हुँगी गाविस–३, संगाहास्थित ज्योति प्राविमा अध्ययन गर्ने बालबालिकाको पढाइ नियमित हुन नसकेको हो । हुँगी गाविस–३ मा पाँच घर बोटे घरपरिवारका नौ जना बालबालिका विद्यालयमा भर्ना भए पनि नियमित रुपमा अध्ययन गरेका छैनन् ।

कक्षा ३ सम्म जेनतेन पढेपछि बीचमा कक्षा छाड्ने बढी हुन्छन् । अन्यत्रबाट होटल सञ्चालक उनीहरुलाई लिनका लागि गाउँमा आउने र मजदुरीका लागि बोटे समुदायका बालबालिकालाई लैजान थालेपछि पढाइ अधुरो हुने गरेको विद्यालयका प्रधानाध्यापक डिला रानाभाटको भनाइ छ ।

प्रअ रानाघाटका अनुसार विद्यालयमा नियमित आकर्षण गर्न सरकारले बोटे बालबालिका खाजा कार्यक्रम सञ्चालन गरे पनि विद्यालय नियमित हुन नसकेको हो । प्रतिमहिना बोटे बालबालिकालाई खाजा कार्यक्रमका लागि रु ४०० बजेट विद्यालयमा आउने गर्दछ ।

बोटे समुदायमा प्रशस्त जग्गा जमिन छैन, श्रीमान भारतमा बस्छन्, श्रीमती मजदुर गरी जीविकापार्जन गर्न बाध्य छन् । श्रीमानसँग श्रीमती र बालबालिका भारत जाने र केही बालबालिकालाई होटल सञ्चालकले लैजान थालेसँगै बोटे समुदायका बालबालिकाको पढाइ अधुरो बन्न थालेको शिक्षिका वुद्धकला डुम्रेले बताउनुहुन्छ । अभिभावकले पनि सहज रुपले होटलमा काम गर्न पठाउने गरेको स्थानीय बताउँछन् ।

यस विद्यालयमा कक्षा एकदेखि ५ कक्षासम्म २५ जना बालबालिकाले मात्र पढ्छन् । आर्थिक रुपमा सम्पन्न र सरकारी जागिर खानेले आफ्ना बालबालिका बोर्डिङ स्कुलमा पढाउने होडबाजीले सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या ओरालो लाग्न थालेको हो ।

More News