धनुषाका विद्यालयमा शिक्षक मिलान नहुँदा समस्या

07 January 2017 Source: RSS News

धनुषा, २३ पुस । कामै नगरी सरकारी तलबभत्ता लिन पाइन्छ, भन्ने सुन्दा अचम्म लाग्नसक्छ । तर अचम्म मान्नु पर्दैन, धनुषाका सामुदायिक विद्यालयमा पहुँचवाला शिक्षक वर्षभरी विद्यालयमा पढाउँदै नपढाइ तलबभत्ता बुझ्छन् ।
दरबन्दी मिलान हुननसक्दा धनुषाका विद्यालयमा कतै शिक्षकको अभाव छ, भने, कतै विद्यार्थी भन्दा शिक्षक बढी छन्, जसले कामै नगरी तलबभत्ता पाइरहेका छन् ।

धनुषाको फूलगामामा २०६५ सालमा स्थापना गरिएको जनता राष्ट्रिय प्राथमिक विद्यालयमा दलित तथा पिछडिएका समुदायको एक सय ८५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । भुइँमै बसेर पढाइ हुँदै आएको यस विद्यालयमा फर्निचरको अभावसँगै एकजना शिक्षक र दुईजना पिसीएफ शिक्षिका मात्र रहेको सो विद्यालयका प्राचार्य नितियानन्द झा बताउनुहुन्छ । जनकपुरको असर्फी साह निम्न माध्यमिक विद्यालयको अवस्था भने फूलगामाको विद्यालय भन्दा निकै फरक रहेको छ ।

शिक्षक सङ्घ धनुषाका सचिव रामस्नेही यादव प्राचार्य रहेको यस विद्यालयमा आवश्यक फर्निचरसँगै दुई सय चारजना विद्यार्थीका लागि १४ जना शिक्षक कार्यरत रहेको असर्फी साह निमाविका प्राचार्य यादव बताउनुहुन्छ ।

जिल्ला शिक्षा कार्यालय धनुषाले जनकपुरकोे राजर्षिजनक राष्ट्रिय प्राथमिक विद्यालय झुलाघरमा एक सय २५ जना विद्यार्थीका लागि १४ जना शिक्षक खटाएको छ ।यसैगरी जनकपुरकै जनता राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था पनि उस्तै छ । एक सय ४३ जना विद्यार्थीका लागि पनि ११ जना शिक्षक खटाइएको श्री जनता राष्ट्रिय प्राथमिक विद्यालय लक्ष्मण अखडा जनकपुरका प्रध्यानाध्यापक रामशम्शेर साह बताउनुहुन्छ । जनकपुरमा रहेका १६ वटा प्राथमिक विद्यालयमा आठ सय ८३ जना बालबालिका मात्र अध्ययनरत रहे पनि सयजना शिक्षक कार्यरत छन् । ग्रामीण क्षेत्रका विद्यालयमा दरबन्दी भए पनि शिक्षक सङ्घ–सङ्गठनका अगुवा र राजनीतिक दलका नेताका नातागोता सदरमुकाम केन्द्रित हुँदा धनुषाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी मिलान नगरिएको श्री महारानी माई राष्ट्रिय प्राथमिक विद्यालय भतहीपटेर्वाका प्रध्यानाध्यापक पशुपति ठाकुर बताउनुहुन्छ ।

धनुषाका जिल्ला शिक्षा अधिकारी शङ्करकुमार कार्कीकाअनुसार दुई सय ८६ वटा प्राथमिक विद्यालयमा एक हजार ३०० भन्दा बढी शिक्षक कार्यरत छन् । यस्तै ८३ वटा निम्न माध्यमिक विद्यालयमा दुई सय ३३ जना शिक्षक छन्, भने ६१ वटा माध्यमिक विद्यालयमा तीन सय दुईजना शिक्षक छन् ।

शिक्षा नियामावलीमा तराईमा ५०, पहाडमा ४५ र हिमाली क्षेत्रमा ३० जना विद्यार्थी बराबर एकजना शिक्षक राख्ने प्रावधान छ । लामो समयदेखि धनुषामा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी मिलान गरिएको छैन । जसले सामुदायिक विद्यालयको पठनपाठन नै प्रभावित भएको छ ।

More News