विद्यालयको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा

02 January 2017 Source: RSS News

महोत्तरी, १८ पुस । सम्बन्धित पक्षको लापर्बाहीको कारण महोत्तरीको सुन्दरपुरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा रहेको छ ।

वर्षौंदेखि सो जग्गा संरक्षणको लागि विद्यालय तथा स्थानीयले समयमै चासो नदेखाएपछि विद्यालयको नाममा रहेको साढे १४ बिगाहा जग्गामध्ये १० बिगाहा जग्गा अलपत्र अवस्थामा रहेको छ । वर्षौंदेखि स्थानीयले अवैधरुपमा उपभोग गर्दै आएता पनि सम्बन्धित निकायको यसतर्फ ध्यान जान सकेको छैन ।

विद्यालयभन्दा दस किलोमिटरको दूरीमा रहेको १० बिगाहा जग्गामा ठूलाठूला रुख लगाइएको छ । तारबारले छेकबार गरेता पनि वर्षौंदेखि संरक्षणको अभावमा सो जग्गा स्थानीयले भोगचलन गर्दै आएका छन् । विद्यालयको छेउमै रहेको साढे ४ बिगाहा क्षेत्रफल बराबरको पोखरी पाँच वर्षको लागि रु १५ लाखमा टेन्डरमा लगाएता पनि अन्य जग्गाको हकमा विद्यालय नै अनविज्ञ रहेको छ । वर्षौंदेखि विद्यालयमा सो जग्गाको कारोबारको सम्बन्धमा कुनै किसिमको अभिलेख नराखिएको विद्यालय स्रोतले जनाएको छ ।

केही वर्षपूर्व विभिन्न कारणले गर्दा लामो समयसम्म बन्द रहेको सो विद्यालयमा आफू आउँदा कुनै किसिमको हिसाबकिताब पारदर्शी तरिकाले आफूलाई नबुझाएको विद्यालयका प्रधानाध्यापक सूर्यदेव यादवले बताउनुभयो । कतिपय ठेकेदारले वर्षौंसम्म विद्यालयबाट टेन्डर स्वरुप लिएको जग्गाको रकम विद्यालयले पाउन नसकेको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो ।

यता विद्यालयको जग्गा यसरी अलपत्र अवस्थामा रहनुको कारण विद्यालयमा लामो समयदेखि व्यवस्थापन समिति नहुनु तथा प्रधानाध्यापकले समयमै तदारुकता नदेखाएको नै मुख्य कारण रहेको स्थानीय राजनीतिककर्मी रामेश्वर यादव बताउनुहुन्छ । यस विषयमा विद्यालयले कहिल्यै पनि अभिभावक भेला नबोलाउनु, सम्बन्धित निकायसमक्ष गुनासो नराख्नुले विद्यालयको नै कमीकमाजोरी रहेको यादवले धारणा राख्नुभयो ।यस सम्बन्धमा चाँडै नै यथार्थ कुरा बुझेर उचित कदम उठाइने गाविस कार्यालय सुन्दरपुरले जनाएको छ ।

More News