विद्यालय भवनको पुनःनिर्माण अनुगमन

19 December 2016 Source: rss News

ललितपुर, ४ पुस । जिल्ला शिक्षा कार्यालय ललितपुरले गत वर्षको भूकम्पमा क्षतिग्रस्त विद्यालय भवनको पुनःनिर्माणको अवस्था बुझ्न जिल्लाका विभिन्न स्थानका विद्यालयको अनुगमन थालेको छ ।

ठूला लगानीमा गैरसरकारी वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पुनःनिर्माण सुरु गरेका कतिपय विद्यालयमा निर्माण ढिलाइ भइरहेको पाइएको छ । जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले काम सुरु भएर अघि नबढेको गुनासो आएका विद्यालयमा स्थलगत निरीक्षण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, गैससका प्रतिनिधि पनि हामीसँगै भएकाले ढिलाइका कारण विद्यालयमा नै छलफल भइरहेको छ । सरोकार भएका सबै निकाय एकै ठाउँमा राखेर छलफल गर्दा विद्यालयमा नै निष्कर्ष निस्कने उहाँ बताउनुहुन्छ ।

कार्यालयका कर्मचारीसँगै, स्रोत व्यक्ति, इन्जिनियर, प्रअ र गैससका प्रतिनिधि अनुगमनका सहभागी छन् । जिल्लामा पाँच क्षेत्र छुट्याएर अनुगमन भइरहेको छ । पुरीले भन्नुभयो, चार वटा क्षेत्रमा हामी पुगिसकेका छौँ, अब गोटीखेल गाविस र त्यस आसपासका विद्यालयमा मात्रै जान बाँकी छ । अनुगमनका क्रममा भूकम्पपछिको विद्यालय भवनको पुनःनिर्माणसँगै शिक्षक दरबन्दी, बेरुजु फछ्र्याेट, शिक्षण सिकाइ उपलब्धिलगायत विषयमा स्थलगत अनुगमन र छलफल भइरहेको कार्यालयले जनाएको छ ।

More News