असी विद्यालयमा बीसजनाभन्दा कम विद्यार्थी

18 December 2016 Source: RSS News

बाबियाचौर (म्याग्दी), ३ पुस । म्याग्दीका ८० वटा सामुदायिक विद्यालयको प्रावि तहमा २० जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेको छ ।विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । विद्यार्थी सङ्ख्या, सेवा क्षेत्रको दूरी र भौतिक पूर्वाधारका आधारमा सङ्कटग्रस्त अवस्थाका विद्यालय गाभ्ने नीति रहे पनि भौगोलिक अवस्थितिले कार्यान्वयन भएको छैन ।

म्याग्दीका एक दर्जन बढी विद्यालय गाभिए पनि अझै ८० विद्यालयमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून रहेको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताउनुभयो । जिल्लाभर सामुदायिक विद्यालयको सङ्ख्या २३३ छ ।तीन कक्षासम्म सञ्चालित राम्चेको थावनस्थित शान्ति कालिका प्राविमा तीन विद्यार्थीका लागि एक शिक्षक छन् ।

त्यस्तै राम्चेको महभिरमा रहेको चन्द्र प्राविमा छ विद्यार्थीका लागि तीन शिक्षक र नारच्याङको धौलागिरि प्राविमा सात विद्यार्थीका लागि राहतसहित तीन शिक्षक छन् । बसाइँ सराइको बढ्दो दरले ग्रामीण भेगका बस्ती रित्तिँदै गएपछि सामुदायिक विद्यालयमा विद्यार्थी अभाव भएको हो ।

वैदेशिक रोजगारीले गाउँलेको आयस्तरमा वृद्धि भएपछि सहरतिर बसाइँ सर्नेको ताँती छ । त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ । यतिमात्र होइन गाउँका विद्यालयमा शिक्षक दरबन्दीसमेत पर्याप्त छैन ।दरबन्दी नहुँदा स्थानीय चन्दा उठाएरै विद्यालय सञ्चालन गर्न बाध्य छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार म्याग्दीको २० विद्यालयको मावि तह, १९ को आधारभूत तह र नौवटा प्रावि तह दरबन्दीविहीन छन् ।

स्थानीय स्रोतबाट सञ्चालित सामुदायिक विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञानका विषयगत शिक्षकको अभाव छ । चार वर्षदेखि जिल्ला शिक्षा समितिले पूर्णता पाउन सकेको छैन । नौ सदस्यीय समितिमा हाल प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र जिशिअमात्र रहेका छन् ।

More News