न कक्षाकोठा, न शौचालय: दलित पढने विद्यालयको बिजोग

13 December 2016 Source: RSS News

बेनी (म्याग्दी), २८ मङ्सिर । विद्यालयको कक्षाकोठा भवन निर्माण गर्न आर्थिक स्रोत अभाव भएपछि निर्माण कार्य नै अलपत्र परेको छ ।म्याग्दीको बेनी नगरपालिका ३ फापरखेतमा अवस्थित खड्गभवानी प्राथमिक विद्यालयमा गत आर्थिक वर्षमा सुरु गरिएको भवन निर्माण कार्य अलपत्र परेको हो ।

सांसद विकास कोषबाट रु एक लाख, जिविस म्याग्दीबाट रु ७५ हजार र बेनी नगरपालिकाबाट रु ७० हजारका साथै बाँकी विद्यालय तथा स्थानीय स्रोतको व्यवस्थापनमा दुईकोठे कक्षाकोठाको निर्माण सुरु गरिएको थियो । तर निर्माणकै क्रममा गएको बर्सातको समयमा भवनभन्दा माथिबाट पहिरो खसेर भवन भत्काएपछि निर्माण कार्य नै अवरुद्ध बनेको खड्गभवानी प्राविले जनाएको छ । भवनको अभावमा विद्यालयमा अध्ययरत सबै दलित विद्यार्थी सास्ती भोग्न बाध्य छन् ।

भवन नहुँदा दुईओटा कक्षालाई एउटै कक्षाकोठामा विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर चर्मकारले बताउनुभयो । विद्यालयमा कम्पाउन्ड वाल नहुँदा चोरी, डकैती, तोडफोड भइरहने तथा वस्तुभाउ पसेर हैरान पार्ने गरेको प्रअ चर्मकारले बताउनुभएको छ ।

कक्षाकोठाको अभावसँगै विद्यालयमा शौचालय र कम्पाउन्ड वालको समेत अभाव देखिएको छ भने विद्यालयमा शौचालय नहुँदा शिक्षक तथा विद्यार्थी दिसापिसाब गर्न खाली पाखोमा जानुपर्ने समस्या पनि रहेको छ । विद्यालयको समस्याबारे शिक्षा कार्यालय, जिविस र नगरपालिकामा पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर कार्कीले गुनासो गर्नुभयो ।

उहाँका अनुसार कक्षाकोठाको अभावमा शिक्षण सिकाइ क्रियाकलाप अस्तव्यस्त बन्ने गरेको छ । भवनको अभाव मात्रै होइन उक्त विद्यालयमा दरबन्दीअनुसार शिक्षकको पनि अभाव छ । कुल ५२ विद्यार्थी अध्ययनरत सो विद्यालयमा दरबन्दीका दुई, बालविकास सहयोगी कार्यकर्ता एक र विद्यालय कर्मचारी एकजना मात्रै कार्यरत रहेका छन् । विद्यालयको अवस्थाबारे म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले भने कार्यालयमार्फत विद्यालयलाई आवश्यक सहयोग गरिने बताउनुभयो ।

More News