क्याम्पस भवनका लागि प्रवासीद्वारा रु ३५ लाख सहयोग

12 December 2016 Source: RSS News

फलेवास (पर्वत), २७ मङ्सिर । गाउँमै गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा आउन लागेको क्याम्पस भवन निर्माणका लागि प्रवासीले झन्डै रु ३५ लाख आर्थिक सहयोग गरेका छन् ।

दक्षिण पर्वतको हुवास गाविसस्थित हुवास बहुमुखी क्याम्पसको भवन निर्माणका लागि प्रवासी नेपालीले झन्डै रु ३४ लाख ६५ हजार सहयोग गरेका हुन् । उक्त रकममध्ये हुवास घर भई हाल अमेरिकामा कार्यरत राजेन्द्रप्रसाद श्रेष्ठले रु २० लाख ६५ हजार र उहाँले फेसबुकबाट चलाएको क्याम्पस भवन निर्माण अभियानमार्फत रु १४ लाख गरी ३४ लाख ६५ हजार बराबरको आर्थिक सहयोग प्राप्त भएको हो ।

फेसबुक अभियानमार्फत वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न ठाउँमा रहेका पर्वतको दक्षिणवर्ती गाविसका बासिन्दाले रु १४ लाख सहयोग गरेका थिए ।

रोटरी क्लब न्युजर्सीमा आबद्ध श्रेष्ठले हालै मात्रै औपचारिक रुपमा आर्थिक सहयोग गरेपछि भवन निर्माण कार्य अगाडि बढ्ने भएको हो । आर्थिक अभावमा भवन निर्माण हुन नसक्दा स्थानीय जनसेवा संस्कृत माविको भवनमा सञ्चालन गरिएको हुवास बहुमुखी क्याम्पस अब आफ्नै भवनमा सञ्चालन हुने भएको छ ।

क्याम्पसको लागि भवनको अभाव हुँदा जनसेवा संस्कृत माविको भवनमा बिहानमा स्नातकतह र दिउँसोमा मावि तहको पठनपाठन हुँदै आएको थियो । भवनको अभाव हुँदा क्याम्पसको पठनपाठनमा असहज अवस्था थियो अब उक्त क्याम्पसमा आठ कोठे दुई तले पक्की भवन निर्माण हुने भएको छ ।

उक्त क्याम्पसमा अहिले करिब १५० जना विद्यार्थीले स्नातकतहको अध्ययन गर्दै आएका छन् । उक्त सहयोगबाहेक श्रेष्ठले विद्यालयलाई रु १० लाख ५५० बराबरको २८ थान कम्प्युटर समेत प्रदान गरेका छन् ।

More News