तीन विद्यार्थी, दुई शिक्षक :एउटा कक्षामा शुन्य विद्यार्थी

06 December 2016 Source: RSS News

बेनी (म्याग्दी), २१ मङ्सिर । बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण म्याग्दीका ग्रामीण भेगका विद्यालयको प्राथमिक तहमा विद्यार्थी पाइनै छोडेका छन् ।

जिल्लाको राम्चे गाविसमा अवस्थित शान्तिकालिका प्राविमा तीनजना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी बढाउन शिक्षक, व्यवस्थापन समितिले अभियान सञ्चालन गरेपनि अपेक्षा अनुसार विद्यालयमा विद्यार्थी भर्ना हुन आएनन् ।

त्यसैगरी, राम्चे गाविसकै चन्द्र प्रावि र भकिम्ली गाविसको मरेक गाउँमा रहेको नवज्योति प्राविको १ देखि ३ कक्षासम्म तीन जना विद्यार्थी रहेका छन् । यी तीनवटै विद्यालयमा दुईजना शिक्षकले तीनजना विद्यार्थीलाई पढाइरहेका छन् ।

तीनवटामा मात्रै होइन जिल्लामा ८० वटा प्रावि तहका विद्यालयमा दुई÷तीन जना शिक्षकका लागि २० भन्दा कम विद्यार्थी रहेका जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले बताउनुभयो । बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माविको कक्षा २ मा एकजना पनि विद्यार्थी छैनन् ।

“सामुदायिक विद्यालयमा विद्यार्थीको घट्दो सङ्ख्या चिन्ताको विषय बनेको छ । आउँदो शैक्षिक सत्रमा सकेसम्म गाभ्ने तयारीमा छौँ”, थापाले भन्नुभयो । सूचना अधिकृत समेत रहेका थापाका अनुसार जिल्लाभर रहेका विद्यालयमा प्राथमिक तहका विद्यार्थी घट्नुमा सामुदायिक विद्यालयको गुणस्तरीयताभन्दा पनि जन्मदर तथा बसाइँसराइ प्रमुख कारण हो ।

“धेरैजसो विद्यालयमा प्राथमिक तहमा बेन्च खाली र थोरै देखिन्छन् । देशभरको समस्या भएपनि राज्यको ठूलो लगानी खेर गइरहेको छ” जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले भन्नुभयो ।

More News