अस्टेलियालीद्वारा विद्यालयलाई रु छ लाख सहयोग

05 December 2016 Source: RSS News

म्याग्दी, २० मङ्सिर । भगवती ४ रिसिनचौतारीस्थित धौलागिरि प्राविलाई अस्ट्रेलियाबाट रु छ लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।

अस्ट्रेलिया बस्दै आएकी पिप्लेकी जममाया मल्लको पहलमा विद्यालयलाई रु छ लाख १० हजार सहयोग उपलब्ध भएको हो । मल्लको नेतृत्वमा विद्यालयमा पुगेका आठ अस्ट्रेलियालीले आज विद्यालयलाई उक्त सहयोग हस्तान्तरण गरेका छन् । कार्यक्रममा विद्यालयका प्रअ मनबहादुर पुर्जालाई सहयोगदाता मल्लले उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । विद्यालयलाई शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको छ ।

त्यस्तै उनीहरुले स्थानीय चौतारी आमा समूहलाई रु १० हजार सहयोग गरेका छन् । कार्यक्रममा सहयोगदातालाई अभिनन्दन गरिएको थियो । उक्त अवसरमा विद्यालयमा नवनिर्मित दुईकोठे भवनको समेत उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालयको रु सात लाख ५० हजार सहयोग र स्थानीयवासीको जनश्रमदान गरी रु १५ लाख ६२ हजारको लागतमा निर्मित भवनको मुक्तिधाम मावि स्रोत केन्द्रका स्रोत व्यक्ति दुतबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको होे ।

कार्यक्रममा विद्यालयका प्रअ पुर्जाले आफ्ना स्वर्गीय बुबा तानवीरको स्मृतिमा विद्यालयलाई रु १० हजार एक सय पाँच र गर्वुजाले स्व बाजे पुनिराम, बजै बिखमा र आमा धनमायाको स्मृतिमा रु पाँच हजार पाँच सय ५५ सहयोग प्रदान गर्नुभएको थियो ।

More News