दलितले मात्र अध्ययन गर्ने रोल्पाको विद्यालय

05 December 2016 Source: RSS News

रोल्पा, २० मङ्सिर । पूर्वी रोल्पाको घोडागाउँ–४ बरनेटामा रहेको जनएकता आधारभूत विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थी दलित समुदायका रहेका छन् ।

विसं २०६५ मा स्थापना भएको सो विद्यालयमा हाल ७१ छात्रासहित १३२ विद्यार्थी सबै दलित समुदायको रहेको विद्यालयका शिक्षक तुलसी सुनारले जानकारी दिनुभयो ।

सरकारबाट तलब सुविधा पाउने एक गैरदलित शिक्षक रहेका छन भने निजी स्रोतबाट तलब सुविधा पाउने बाँकी चार जना शिक्षक सबै दलित समुदायकै रहेका छन् ।

विद्यालयमा गठित विद्यालय व्यवस्थापन समितिका सबै पदाधिकारी दलित समुदायका रहेको शिक्षक सुनारले बताउनुभयो । एक जना शिक्षक र बाल विकास सहजकर्तालाई सरकारले तलब सुविधा दिने भए पनि बाँकी शिक्षकलाई भने तिहारमा भैलो खेलेर सङ्कलन गरिएको रकम तथा गाविसले दिने सामान्य अनुदानबाट व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपालीले बताउनुभयो ।

विद्यार्थीको अत्यधिक चाप भए पनि सरकारले सङ्ख्या अनुसारको दरबन्दी व्यवस्था नगरिदिँदा समस्या भएको नेपालीले गुनासो गर्नुभयो ।

विद्यालय स्थापनापश्चात् दलित समुदायले सानै उमेरमा छोराछोरी विद्यालय भर्ना गर्न लागेको स्थानीय भरत नेपालीले बताउनुभयो । उमेर छिप्पेपछि मात्र छोराछोरी विद्यालय पठाउने स्थानीय दलितले विद्यालय स्थापना भए पछि भने तीन वर्षकै उमेरदेखि विद्यालय पठाउन थालेका छन् ।

विभिन्न सङ्घ संस्थाको सहयोगमा विद्यालयले खानेपानी, शौचालय र भवनको व्यवस्था गरेको भए पनि फर्निचरको भने समस्या रहेको प्रधानाध्यापक सुनारले बताउनुभयो ।

More News