शैक्षिक अभियानमा कमलको रु एक लाख

02 December 2016 Source: RSS News

काठमाडौँ, १७ मङ्सिर । विगत चारवर्षदेखि निरन्तर शैक्षिक एवम् सामाजिक क्षेत्रमा काम गर्दै आएको कुण्डला भूपूविद्यार्थी समाजको अभियानमा कमलबहादुर तामाङले रु एक लाख सहयोग गर्नुभएको छ ।संस्थाका सदस्य, व्यवसायी एवम् समाजसेवी नुवाकोट जिल्ला महाकाली–१, महादेवटार निवासी तामाङले संस्थाको अक्षयकोष स्थापनार्थ उक्त रकम प्रदान गर्नुभएको हो ।

उहाँले पुर्याउनुभएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै संस्थाले यस अभियानलाई निरन्तररुपमा अगाडि बढाउँदै लैजाने निर्णय गरेको संस्थाका कोषाध्यक्ष भीमबहादुर तामाङले जानकारी दिनुभयो ।उहाँबाट प्राप्त रकम विविध शैक्षिक एवम् सामाजिक गतिविधि सञ्चालनमा सहयोग पुर्याउन अक्षयकोष स्थापनार्थ ‘सिडमनी’का रुपमा ग्रहण गरिएको कोषाध्यक्ष तामाङले बताउनुभयो ।

विशुद्ध सामाजिक एवम् शैक्षिक कार्यमा योगदान पुर्याउन उद्देश्यले स्थापना हुन लागेको अक्षयकोषमा रकम वृद्धि गराउन सबैको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गर्दै संस्थाले प्रेरणादायी र सराहनीय कार्यमा लामबद्ध हुन सम्पूर्ण भूपूविद्यार्थीमा आह्वान गरेको छ ।

शैक्षिक गुणस्तर खस्कँदै जाँदा यस जिल्लाका सामुदायिक विद्यालय बन्द हुने क्रम बढ्नुको साथै त्यस विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले समाजले शैक्षिक गुणस्तर सुधारका लागि अभियान चलाउँदै आएको छ ।उक्त संस्था नुवाकोट जिल्लाको भद्रुटार–१ स्थित कुण्डला उच्च माध्यमिक विद्यालयका भूपूविद्यार्थीको सक्रियतामा गठन गरिएको हो ।

More News