शिक्षक दरबन्दी नहुँदा विद्यार्थीको भविष्य अन्धकारमय

01 December 2016 Source: RSS News

इनरुवा, १६ मङ्सिर । सुनसरीका नयाँ सामुदायिक प्राथमिक विद्यालयमा शिक्षक दरबन्दी नहुँदा विद्यार्थी बालबालिकाको भविष्य अन्धकारमय बन्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् ।

विद्यायलमा विद्यार्थीको नियमित पठनपाठन नभएको गुनासो बाहिर आएको बेला धेरै विद्यालयमा शिक्षक नै नरहेको पाइएको छ । जिल्लाका दक्षिणवर्ती गाविसमा सञ्चालित रहेका सामुदायिक विद्यालयमा कुनै किसिमको विषयगत शिक्षकको दरबन्दी नरहेका कारण विद्यार्थीको जीवन अन्धकारमय बन्दै गएको हो ।

अधिकांश गाविसमा सञ्चालित रहेका ११ नयाँ समुदायिक प्राथमिक विद्यालयमा विद्यार्थी भएपनि दरबन्दी नरहेको जिल्ला शिक्षा कार्यालय सुनसरीको तथ्याङ्कमा उल्लेख रहेको छ । सरकारले नयाँ स्वीकृति दिएका समुदायिक विद्यालयमा शिक्षक दरबन्दी नपठाएका कारण कतिपय विद्यालय बन्दसमेत भइसकेको पाइएको छ ।

जिल्लाका कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेको पाइएको छ । उता नरसिंहको दलित प्रावि, जालपा प्रावि र नरसिंहनाथ प्रावि दरबन्दी अभावमा बन्द नै भइसकेका छन् भने विद्यालयको नाममा दिएको जग्गा व्यक्तिगतरुपमा प्रयोग भइरहेको स्थानीयवासीले बताएका छन् । अरू विद्यालयको अवस्था पनि नाजुक रहेको बताइएको छ । विद्यालयमा सरकारले दरबन्दी नदिँदा विद्यार्थीको जीवन अन्धकारमय बन्ने खतरा बढेको स्थानीयवासीको भनाइ छ ।

गरिखाने परिवारका बालबालिका सामुदायिक विद्यालयमा भर्ना रहेपनि सरकारले गरिब परिवारका सन्तानको जीवनका बारेमा नसोचेका कारण गुणस्तरहीन शिक्षा पाउन बाध्य रहेका छन् ।

सुनसरीको दक्षीणवर्ती गाविस साहेवगन्ज, इनरुवा, छिटाहा, औरावनी, बबिया, महेन्द्रनगर, राजगन्जसिनुवारी, सत्तेरझोरा, वसन्तपुर, देवानगञ्ज, घुस्की, हरिनगरा, जल्पापुर, रामनगरभुटाहा, नरसिंह, भोक्राहा, लौकही, पश्चिम कुशाहा, अमडुवा, कप्तानगन्ज, श्रीपुर, हरिपुर, प्रकाशपुरलगायत गाविसका गरिब परिवारका बालबालिकाले गुणस्तरीय शिक्षा पाउन नसकेको स्थानीयवासीले बताएका छन् ।

विद्यालयमा सरकारले दरबन्दी उपलब्ध नगराउँदा विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्य अस्तव्यस्त बन्दै गइरहेको श्रीपुरजब्दी गाविसका मनोज यादवले जानकारी दिनुभयो । कतिपय समुदायिक विद्यालयका प्रधानाध्यापकले पहुँचका आधारमा पक्की भवनसमेत निर्माण गरिसकेका छन् भने स्कुलमा कक्षा ८ देखि प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीले नै शिक्षकका रुपमा मासिक चार हजारदेखि सात हजार रुपैयाँसम्मको तलबमा काम गर्दै आएको शिक्षा स्रोतले जनाएको छ ।

यस प्रकारका स्कुलले पाठ्यपुस्तक, भवन निर्माण, छात्रवृत्ति, पोसाक, मर्मतसम्भार, दातृ निकायको सहयोग र सरकारी निकायको रकम ल्याएर खाने गरेको तर कक्षा सञ्चालन नगरेको समेत आरोप बाहिर आएको छ । दरबन्दीविहीन विद्यालयलाई कि त बन्द गर्नुपर्ने कि त दरबन्दीको व्यवस्था गर्नुपर्ने कालिका युवा विकास केन्द्र नरसिंहका अध्यक्ष दामोदर यादवले बताउनुभयो ।

सुनसरीका नयाँ सामुदायिक प्राथमिक विद्यालयमा कक्षा १ देखि २ सम्म स्वीकृति पाएका २२, कक्षा १ देखि ३ सम्म स्वकृति पाएका २५, कक्षा १ देखि ४ सम्म स्वीकृति रहेका नौ, कक्षा १ देखि ५ सम्म स्वीकृति नौ र नामको मात्र दर्ता रहेको एकवटा विद्यालयमा दरबन्दी नरहेको उल्लेख गरिएको छ ।

पछिल्लो पटक २०७१ साल फागुन २८ गते जिल्ला शिक्षा समिति सुनसरीको अनुगमन टोलीले गरेको अनुगमनमा झोले विद्यालय तथा नाम मात्रको विद्यालयलाई कार्वाही प्रक्रिया अगाडि बढाई १७ वटा विद्यालय बन्द गराइसकिएको जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

बन्द गरिएका आठ, बन्द गरी समायोजन भएका पाँच, निकासा रोक्का गरी कारबाही गरेको आठ, चेतावनी दिएको दुई र चेतावनी दिई समायोजन प्रक्रियाको कार्यबाही गरेको एकवटा रहेको जिशिका सुनसरीको तथ्याङ्कमा उल्लेख छ ।

More News