शिक्षालाई उत्पादन र रोजगारीसँग जोड्न मन्त्री पौडेलको आग्रह

23 November 2016 Source: RSS News

भक्तपुर, ८ मङ्सिर । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षालाई उत्पादन र रोजगारीसँग जोडेर मुलुकको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।

पद्म उच्च मावि भक्तपुरको ९३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित एक कार्यक्रममा उहाँले नेपालमा प्रचुरता रहेको जलस्रोत र प्राकृतिक सम्पदासँग सम्बन्धित जनशक्ति उत्पादन गर्न सबैले चासो दिनुपर्ने बताउनुभयो ।

समयमै भत्किएका संरचनाको निर्माण हुन नसक्दा शिक्षा क्षेत्रमा समेत असर परेको उहाँले बताउनुभयो ।कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले शिक्षामा गुणस्तरको प्रश्न चुनौतीपूर्ण रहेको बताउँदै स्वरोजगारमूलक र प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

वार्षिकोत्सवका अवसरमा आयोजित पद्म कप भलिबल प्रतियोगिताको उपाधि आदर्श जनप्रेमी उच्च माविले जितेको छ । उक्त प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय दोस्रो र आयोजक पद्म उच्चमावि तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल टिमलाई क्रमशः १०, ६ र ३ हजार नगद साथै ट्रफी प्रदान गरिएको आयोजक पद्म उच्च माविका प्राचार्य राम हाडाले जानकारी दिनुभयो ।

यसैगरी, कार्यक्रममा विद्यालयको विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

More News