शिक्षा नियमावली संशोधन गर्न हिसानको माग

24 November 2016 Source: RSS News

काठमाडौँ, ९ मङ्सिर । उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)ले सरकारले ल्याएको शिक्षा नियमावली, २०७३ को प्रारम्भिक मस्यौदा अपूर्ण रहेको भन्दै संशोधनको माग गरेको छ ।

शिक्षा मन्त्रालयले हालै प्रस्तुत गरेर समाज कल्याण समितिमा विचाराधीन उक्त नियमावलीका अधिकांश विषयमा समर्थन रहेपनि केही कुरा त्रुटिपूर्ण रहेको हिसानको ठहर छ । हिसानले यहाँ बुधबार पत्रकारसम्मेलन गर्दै संशोधनका २२ बुँदा अघि सारेको छ । हिसानले निजी र सामुदायिक विद्यालयका प्रकृति र सञ्चालन पद्धति फरक भएकाले छुट्टाछुट्टै शिक्षा नियामावलीको माग गरेको छ ।

त्यस्तै, हाल सञ्चालित शून्य जोड दुई (जिरो प्लस टू)लाई साबिकबमोजिम ११ र १२ कक्षा सञ्चालन गर्न दिनुपर्ने माग छ । त्यसैगरी कक्षा १ देखि १२ सम्मको शिक्षा समानस्तरको नहुने भएकाले ११ र १२ को शिक्षालाई उच्च शिक्षाको हैसियत कायम राख्नुपर्ने हिसानको माग छ ।

मस्यौदाअनुसार माध्यमिक तह भन्नाले कक्षा ९ देखि १२ सम्मलाई भनिएको तर कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा तथा कक्षा १२ मा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राखिएकाले एकै तहमा दुई परीक्षा उत्तीर्ण गर्नुपर्ने हाँस्यास्पद भएको बताइएको छ ।

साथै, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा अनिवार्यरुपमा लिने व्यवस्था हुनुपर्ने, शिक्षासम्बन्धी सरोकारवाला समिति-उपसमितिमा हिसानका प्रतिनिधिको प्रतिनिधित्व हुनुपर्ने, कानुनबमोजिम योग्यता पुगेका शिक्षण संस्थालाई सम्बन्धन दिनुपर्नेलगायत माग हिसानको छ ।

पत्रकारसम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले अहिलेको नियमावली दश जोड दुई (उच्चमावि तह) को शिक्षालाई नै सिध्याउने खेलअनुरुप आएको बताउँदै यस खेलका विरुद्ध आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले यसबारे आफूहरुसँगको छलफलद्वारा समाधान निकाल्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

More News