रातमाटेमा विद्यालयलाई नयाँ भवन हस्तान्तरण

21 November 2016 Source: RSS News

नाम्जुङ (गोरखा), ६ मङ्सिर । जिल्लाकोे नाम्जुङ गाविस–१ स्थित रातमाटेमा भूकम्पले क्षति पुर्याएको कालिका अमर प्राथमिक विद्यालयको नवनिर्मित पाँचतले भवन आइतबार हस्तान्तरण भएको छ ।

खाल्सा एड, बेलायतको रु १८ लाख ९४ हजार लगानीमा निर्मित सो भूकम्प प्रतिरोधी भवनको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदी र खाल्सा एड युकेका भारतस्थित प्रबन्ध निर्देशक अमरप्रित सिंले उद्घाटन गर्नुभएको थियो ।

भूकम्पले विद्यालय भवन भत्केपछि अस्थायी टहरोमा पठनपाठन सञ्चालन गरिएको बताउँदै विद्यालयका प्रधानाध्यापक तिलप्रसाद काप्रीले आजदेखि नयाँ भबनबाट पठनपाठन सुरु गरिने जानकारी दिनुभयो । विद्यालयमा ६६ जना विद्यार्थी पढ्दै आएका छन् ।

जिशिअ सुवेदीले भूकम्पले क्षति पुर्याएका जिल्लाका ४४९ विद्यालयमध्ये अहिलेसम्म ६६ विद्यालय भवनको पुनःनिर्माण सकिएको बताउनुभयो । अन्य विद्यालय भवनको अभावमा जस्तापाताले छाएको टहरोमा सञ्चालित छन् । जाइकाको तर्फबाट विभिन्न २८ विद्यालय भवन निर्माण गर्ने सम्झौता भइसकेको छ । १०७ वटा मावि भवन निर्माण गर्ने स्रोत फेला परेको उहाँले बताउनुभयो ।

विद्यालयमा कक्षा ५ मा पढ्दै आएका छात्र सुवास काप्रीले नयाँ भवन बनेपछि गर्मीको बेला घाम र चिसोमा चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेकामा खुसी व्यक्त गर्नुभयो । “नयाँ भवन बन्यो अब चौरमा बसेर पढ्नु पर्दैन” – उहाँले भन्नुभयो ।

More News