नदी तर्न नसक्दा विद्यालय छाड्दै

15 November 2016 Source: RSS News

कञ्चनपुर, ३० कात्तिक । दोधारा चाँदनी नगरपालिकाका बालबालिका जोगबूढा नदी तर्न नसक्दा क्रमशः विद्यालय छाड्दै गएका छन् ।

विद्यालय जानका लागि नदी तर्नुपर्ने झन्झटले उनीहरु बीचमै विद्यालय छाड्न बाध्य भएका हुन् । नगरपालिकाको कञ्जभोज, कुतियाकभर, शान्तिनगर क्षेत्रका बालबालिका प्रतिव्यक्ति पाँच रुपैयाँ शुल्क तिरेर डुङ्गाको सहायताले नदी तर्ने गरेका छन् ।

जोखिम मोल्दै डुङ्गाको सहायताले नदी तर्नुपर्ने हुन्छ । स्थानीयवासी टेकबहादुर सुनार पुल नहुँदा धेरैजसो विद्यार्थी बीचमै विद्यालय छाडेर अभिभावकसँगै भारतमा मजदुरी गर्न गएका बताउनुहुन्छ । “वर्षात्मा नदीको बहाव बढ्दा डुङ्गा नचल्दा विद्यालय जान पाउँदैनन्,” उहाँले भन्नुभयो ।

नदी तर्न नसकेकै कारण अधिकांश बालबालिकाले प्राथमिक तहको पढाइ समेत पुरा गर्न सकेका छैनन् । केही अभिभावकले नदीकै समस्याले बालबालिकालाई भारतीय विद्यालयमा भर्ना गरेका स्थानीय जीतुसिंह खत्रीले बताउनुभयो । जोगबूढामा पुल नहुँदा कुतियाकबर, कन्जभोज र शान्ति टोलका करिब एक सय परिवार समस्यामा छन् ।

जोगबूढा नदीमा पुल निर्माणका लागि नगरपरिषद्बाट योजना पास गरी मन्त्रालयमा पहल भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत महेशबहादुर बमले बताउनुभयो । “दुई ठाउँमा पक्की पुलका लागि सर्वे भएको छ,” उहाँले भन्नुभयो ।

More News