छात्रवृत्ति कार्यक्रमले ल्याएको परिवर्तन

15 November 2016 Source: RSS News

बनेपा, ३० कात्तिक । दलित, जनजाति तथा विपन्न परिवारका विद्यार्थीले पाएको छात्रवृत्ति कार्यक्रमबाट लाभान्वित विद्यार्थीले सफलताको कथा प्रस्तुतीकरण गरेका छन् ।

लभग्रिन नेपालको रजत जयन्तीको अवसरमा सोमबार धुलिखेलमा आयोजना भएको सफलताको कथा प्रस्तुतीकरण कार्यक्रममा इन्जिनियर हसना श्रेष्ठ, व्यवसायी दुर्गा कायस्थ, शिक्षिका सीतादेवी दनुवार, कर्मचारी लिला हुमागाईं, जया पौड्याल, कालिका नेपालीले सफलताको कथा प्रस्तुत गरेका हुन् ।

उनीहरु सो छात्रवृत्ति पाएर सरकारी विद्यालयमा अध्ययन गरेर इन्जिनियरिङ, शिक्षक, नर्स, कर्मचारी, व्ययसायी भएको उल्लेख गर्दै गुणस्तरीय जीवनयापनका लागि सक्षम भएको बताएका छन् ।

सर्वमङ्ला माध्यमिक विद्यालयमा अध्ययन गर्दा ८ कक्षामा छात्रवृत्ति पाएकी पाँचखाल नगरपालिका–१० की सीतादेवी दनुवार अहिले शिक्षक हुनुभएको छ । मैले त्यतिबेला यो छात्रवृत्ति नपाएको भए मेरो पढाइ निरन्तर गर्न गाह्रो पथ्र्यो, स्नातकोत्तर तह अध्ययन गर्दै गर्नुभएकी उहाँले भन्नुभयो ।

कोलाती भुम्लु, काभ्रेपलाञ्चोककी कालिका नेपालीले चरम आर्थिक सङ्कटमा छात्रवृत्ति पाएको जानकारी दिँदै अभिभावक गुमाएकाले पारिवारिक जिम्मेवारी पूरा गरेर पढाइमा सक्षम भएको बताउनुभयो ।

त्यसैले, मैले त छात्रवृत्ति पाउँदा अभिभावक पाएको महसुस गरेको थिएँ, उहाँले भन्नुभयो । उहाँ एक गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्छ । देवभूमि बालुवाकी लिला हुमागाईंले आर्थिक अवस्था कमजोर तर पढाइ राम्रो हुँदा पनि पढ्न नपाउने हो कि भन्ने चिन्तामा भएको बेला छात्रवृत्ति पाएको उल्लेख गर्दै छात्रवृत्तिले सक्षम नागरिक बनाएको बताउनुहुन्छ । अहिले उहाँ एक गैरसरकारी संस्थामा मनोसामाजिक तथा आर्थिक सशक्तीकरणमा आबद्ध हुनुहुन्छ ।

सो अवसरमा सांसद विदुर सापकोटाले जीवनलाई गुणस्तरीय बनाउन संस्थाले खेलेको भूमिकाको प्रशङ्सा गर्दै छात्रवृत्ति पाएर असल नागरिक उत्पादन भएको बताउनुभयो ।

कार्यक्रममा एडब्लुसिइएफ, जापानका अध्यक्ष वादा स्योइची, लभग्रिन नेपालका कार्यकारी निर्देशक गोरेकाजी सङ्गतले संस्थाको दायरा बढ्दै गएर शिक्षाबाहेक अन्य क्षेत्रमा पनि काम भएको बताउनुभयो ।

उनीहरुले रु चार हजारदेखि रु छ हजारसम्म छात्रवृत्ति पाएका थिए । सो छात्रवृत्तिबाट ८ कक्षादेखि दशजोड दुईसम्म पढ्न उनीहरुले पाएका थिए । त्यस्तो छात्रवृत्ति पाउने ३५१ जना छन् ।

More News