चार वर्षपछि रामपुरमा कृषि विषयमा त्रिविले भर्ना लिने

26 October 2016 Source: RSS News

चितवन, १० कात्तिक । त्रिभुवन विश्वविद्यालयले चार वर्षपछि पुनः कृषि क्याम्पस रामपुरमा भर्ना लिने भएको छ ।

सोही स्थानमा कृषि तथा वन विज्ञान विश्वविद्यालय खुलेपछि चौतर्फी दबाबका कारण भर्ना लिन छाडेको त्रिविले यस शैक्षिक सत्रमा भने भर्ना लिने भएको छ ।

विश्वविद्यालयका कृषि डिन श्यामशङ्कर झाका अनुसार भर्नाका लागि सहायक डिन गोपालबहादुर केसीको अध्यक्षतामा समिति बनिसकेको छ ।

जिल्लास्थित नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र राप्रपा नेपालका अध्यक्षसँग भर्नाका विषयमा छलफल भइसकेको उहाँले बताउनुभयो ।

शिक्षामन्त्री एवम् विश्वविद्यालयका सहकुलपति धनीराम पौडेलसँग यस विषयमा छलफल भइसकेको बताउँदै उहाँले कृषि विश्वविद्यालयसँग झगडा गरेर होइन, समझदारीमै रामपुरमा त्रिविका विद्यार्थी पढाउने बताउनुभयो ।

मन्त्रीले समेत दुवै विश्वविद्यालयको समझदारीपूर्वक रामपुरमा विद्यार्थी पढाउन सकिने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले सबै जमिन आफैँले प्रयोग गर्न पाउनु पर्ने बताउँदै आएको छ भने त्रिविले दुवै विश्वविद्यालयलाई जमिन बाँडेर काम गर्न सकिने जनाउँदै आएको छ । रामपुरमा ४३३ बिगाहा जग्गा रहेको छ ।

रापुरमा त्रिविले पहिले भेटेनरीमा ४० जना, कृषिमा १०० जना विद्यार्थी पढाउँदै आएको थियो । मङ्सिर महिनाभित्रमा भर्ना लिइसक्ने गरी काम भइरहेको झाको भनाइ थियो ।

More News