हरेक जिल्लामा कृषि क्याम्पस खोलिने

25 October 2016 Source: RSS News

काठमाडौँ, ९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले ७५ वटै जिल्लामा कम्तीमा एउटा सरकारी क्याम्पस खोल्ने तयारी भएको बताउनुभएको छ ।

कञ्चनपुरको पुनर्वासमा कृषि क्याम्पस स्थापनाका लागि प्रधानमन्त्रीसँग ज्ञापनपत्र पेस गर्न आज गएको सर्वपक्षीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रमा केही गुणात्मक काम गर्न सरकार लागिरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अघिल्लोपटक प्रधानमन्त्री हुँदा मेरो नेतृत्वमा देशका विभिन्न भागमा विश्वविद्यालय स्थापनाको काम अगाडि बढ्यो । यसपटक शिक्षा क्षेत्रमा केही गुणात्मक काम गर्नुपर्छ भन्ने लागेको छ । सबै जिल्लामा कम्तीमा पनि एउटा सरकारी कलेज खोल्ने तयारी गरिएको छ ।”

उहाँँले कृषि शिक्षामा लगानी नगरी आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिँदैन भन्दै कृषि क्याम्पस स्थापनाको प्रक्रिया अगाडि बढाउने विश्वास दिलाउनुभयो । कञ्चनपुरको पुनर्वासमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ६५ बिघा जमिन कृषि क्याम्पसका नाममा उपलब्ध गराउन प्रतिनिधिमण्डलले माग गरेको थियो ।

प्रतिनिधिमण्डलमा पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता लेखराज भट्ट, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा भूषण श्रेष्ठ, कृषि क्याम्पस स्थापनार्थ तदर्थ समितिका संयोजक रामचन्द्र नेपाललगायत सहभागी हुनुहुन्थ्यो ।

More News