जिल्लाका २० विद्यालय समायोजन हुने

24 October 2016 Source: RSS News

चितवन, ८ कात्तिक । जिल्लाका २० वटा विद्यालय समायोजन गर्ने तयारी भएको छ ।

विद्यार्थी सङ्ख्या कम भएका ती विद्यालय मङ्सिर मसान्तसम्ममा समायोजन गर्ने जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । ५७ वटा विद्यालयको कक्षा घटाउने तयारीसमेत भइरहेको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले बताउनुभयो ।

गत वर्ष ११ वटा विद्यालय समायोजन गरिएको थियो भने २१ वटा विद्यालयको कक्षा घटाइएको थियो । यो वर्ष सुरु भएयता एउटा विद्यालय समायोजन गरिसकिएको छ । जिल्ला शिक्षा अधिकारी अर्यालका अनुसार भौगोलिक अवस्थालाई मध्यनजर गरेर तिन कक्षासम्म सञ्चालन भई ३६ जनाभन्दा कम विद्यार्थी भएका र पाँच कक्षासम्म सञ्चालन भई ६० जनाभन्दा कम विद्यार्थी भएका विद्यालयलाई समायोजन गर्ने नीति सरकारको छ । जसअनुसार पूर्वतयारीका लागि छलफलको क्रम अन्त्यमा पुगेको उहाँले बताउनुभयो । प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएपछि समायोजन गर्न लागिएको हो ।

शिक्षक दरबन्दी मिलान, विद्यालय समायोजन र कक्षा घटाउने काम पनि सँगै गरिने उहाँले बताउनुभयो । कम विद्यार्थी भएका विद्यालय समायोजनपछि छिमेकी विद्यालयमा विद्यार्थी पढाउने व्यवस्था मिलाइँदै छ भने पायक पर्ने विद्यालयमा शिक्षक दरबन्दी सारिँदै छ ।

जिल्लामा सामुदायिकतर्फ दुई सय १३ प्राथमिक, ६९ निम्नमाध्यामिक र ९५ मावि रहेका छन् । सामुदायिक विद्यालयमा ७६ हजार ८१ विद्यार्थी अध्ययनरत रहेको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । उनीहरुलाई दुई हजार आठ सय ११ शिक्षकले पढाउँदै आएका छन् । जिल्लामा करिब पाँच सय दरबन्दी कम रहेको जिल्ला शिक्षा अधिकारी अर्यालले बताउनुभयो ।

जिल्लाको एउटा प्रावि, ४२ निम्नमाध्यामिक विद्यालय र १८ वटा माविमा सोही तहको दरबन्दी नरहेको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ ।

More News