शिक्षा दिवसका लागि मूल आयोजक समिति गठन

26 August 2016 Source: RSS News

काठमाडौँ, १० भदौ । राष्ट्रिय शिक्षा दिवस मनाउन शिक्षा मन्त्रालयले मूल आयोजक समारोह समिति गठन गरेको छ ।

मन्त्रालयमा आज बसेको बैठकले यही भदौ २३ गते मनाइने शिक्षा दिवसका लागि नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा मूल आयोजक समारोह समिति गठन गरेको हो ।

यसैगरी शिक्षा दिवसलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न १२ उपसमितिसमेत गठन गरिएको छ । उत्कृष्ट विद्यालय मूल्याङ्कन समिति, कार्यक्रम समिति, शैक्षिक स्मारिका प्रकाशन समिति, सांस्कृतिक कार्यक्रम समिति रहेका छन् ।

यस्तै प्रचारप्रसार समिति, आन्तरिक व्यवस्थापन समिति, परिसंवाद समिति, अन्तर्राष्ट्रिय साक्षरता दिवस समिति, खेलकुद समिति, समन्वय समिति, विद्याभूषण तथा छात्रा शिक्षा पदक व्यवस्था समिति, शिक्षा पुरस्कार वितरण केन्द्रीय समिति र क्याम्पस मूल्याङ्कन समिति, पुरस्कार छनोट समितिलगायतका समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिनुभयो ।

आजको बैठकमा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । प्रवक्ता डा लम्सालले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सबै सङ्घसंस्थालाई आग्रह गर्नुभयो ।

More News