दुई महिनादेखि शिक्षक बेपत्ता

02 August 2016 Source: RSS News

धनकुटा, १८ साउन । दुई महिनाअघि बेपत्ता चानुवाका एक शिक्षक अझै फेला परेका छैनन् ।

स्थानीय वीरेन्द्र प्राविमा अध्यापन गराउने चानुवा - १ रुपटारका ४७ वर्षीय भीमबहादुर चापागाईं गत असार १८ गते आफन्तको मलामी गएका बेला बाटैबाट बेपत्ता भएका हुन् ।

रुखबाट लडेर आफन्त १३ वर्षीय रेशन चापागार्इंको मृत्यु भएपछि अरुणघाटमा मलामी जान भनी गएका शिक्षक चापागाईं दुई महिना बितिसक्दा पनि घर फर्किएका छैनन् । अझै कुनै अत्तोपत्तो नहुँदा परिवारमा चिन्ता र अन्योल छाएको छ । अरुणघाटबाट करिब एक किमी माथिसम्म पुगेकोे स्थानीयवासीले देखेको भए पनि त्यसपछि भने सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

हुलियासहित सबै ठाउँमा खोजतलास गर्दा पनि उनको अझै अत्तोपत्तो लाग्न नसकेको जिप्रका धनकुटा, मुद्दा फाँटका प्रहरी नायब निरीक्षक दिनेश अधिकारीले बताउनुभयो ।

More News