'खेल्दै सिक्ने केन्द्र' मार्फत १८० बालबालिकालाई शिक्षा

02 August 2016 Source: RSS News

रत्ननगर (चितवन), १८ साउन । विद्यालय जाने उमेर पुगेर पनि नगएका तथा घरेलु बालश्रममा लागेका १८० बालबालिकालाई ‘खेल्दै सिक्ने केन्द्र’ सञ्चालन गरेर अनौपचारिक शिक्षा दिइएको छ ।

सहरी बाल शिक्षा कार्यक्रम अन्तरगत उनीहरुलाई ‘खेल्दै सिक्ने केन्द्र’ मार्फत शिक्षा प्रदान गरिएको भरतपुर उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत तुलसीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालय बाहिर रहेका बालबालिका र किशोरकिशोरीलाई शिक्षामा पहुँच र गुणस्तरीय सिकाइका लागि १० महिनासम्म यसरी अनौपचारिक शिक्षामा सहभागी गराइएको हो ।

उमेर पुगेर पनि विद्यालय बाहिर रहेकालाई शिक्षा आर्जनमा असहज महसुस नहोस् भनेर खेल्दै सिक्न सक्ने वातावरणसहित शिक्षा दिइएको हो ।

युनिसेफको सहयोग तथा भरतपुर उपमहानगरको समन्वयमा जिल्लाको दियालो परिवार र युथ क्लवले उक्त कार्यक्रम चलाएका हुन् । दियालोले ५ वटा र युथ क्लबले ४ वटा अनौपचारिक कक्षा चलाएका छन् ।

अनौपचारिक शिक्षाको १० महिने कोर्स सकिएपछि तीमध्ये अहिले ८८ जना बालबालिकालाई विभिन्न विद्यालयमा १ देखि ८ कक्षासम्म भर्ना गरिएको छ ।

गरिबी तथा विभिन्न कारणले यस्ता बालबालिकाहरु विद्यालय जान नपाई बालश्रममा लाग्न बाध्य भएका हुन् । भरतपुरमा अहिले बालमैत्री स्थानीय शासन कार्यक्रम लागू भएको छ । बालश्रम न्यून गर्नु उक्त कार्यक्रमको पहिलो सूचक हो ।

पूर्व शिक्षक भानुप्रसाद उपाध्यायले यस्ता कार्यक्रमलाई साँच्चै नै व्यवहारमा नउतारिएसम्म बालश्रम न्यून गर्न मुस्किल हुने बताउनुहुन्छ । सिप सिकेका बालबालिकाहरु पुनः सडकमा पुगेका र बालश्रममा लागेका सयौं उदाहरण भएको उहाँको भनाइ छ ।

भरतपुर उपमहानगरले पनि विद्यालय भर्ना गरिएका बालकालिकाको दीर्घकालीन अनुगमन हुन नसक्दा कतिपय अवस्थामा समस्या हुने गरेको जनाएको छ । अहिले उपमहानगर क्षेत्रमा १ हजार पाँच सयभन्दा बढी बालश्रमिक रहेको अनुमान छ ।

More News