मदिरा सेवन गरेका प्रधानाध्यापक द्वारा जिशिअ माथि हातपात

23 July 2016 Source: RSS News

मुगु, ८ साउन । मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति हातपात भएको छ ।

नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्यापक बिक्रमबहादुर शाहीले जिशिअ हमालमाथि निवासमै गई हातपात गरेका हुन् ।

प्रअ शाहीले विद्यालयको आर्थिक हिनामिना गरेको भन्दै मुर्माका स्थानीयवासी तथा विद्यालय व्यवस्थापन समितिले विद्यालयको खाता अर्का शिक्षकमार्फत चल्ने गरी व्यवस्था गरिदिन जिशिअ हमालसमक्ष लिखित निवेदन दिएका थिए । जिशिअ हमालले हिजो मात्रै उक्त विद्यालयको खाता अर्का शिक्षकमार्फत चल्ने बनाएका थिए ।

प्रअ आफू भएर पनि खाता अकै शिक्षकको नामबाट चल्ने भएपछि आवेगमा आएका शाहीले मदिरा सेवन गरी छ - सात जनाको समूह लिएर जिशिअमाथि हातपात गरेका थिए । हातपातका क्रममा जिशिअ हमालको ल्यापटप, घरका ढोका तोडफोड भएका छन् ।

घटनालगतै प्रहरीले शाहीलाई गमगढीस्थित आफ्नै घरबाट गएराति नै पक्राउ गरेको छ ।

शाहीले विद्यालयका शिक्षकको तलब, खाजा, मसलन्द र निमार्णका रकम अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शाहीले गत वर्ष राष्ट्रिय बाणिज्य बैंक मुगुका कर्मचारीको मिलोमतोमा बैंकमा रहेका अर्कै व्यक्तिको खाताबाट रकम झिकेका थिए ।

More News