एसएलसीपछि विषय छनोट

26 June 2016 Source: Nagarik news Articles

आमाबाबुले आफ्ना सन्तानले विज्ञान विषय अध्ययन गरुन् भन्नु भन्दा छोराछोरीको सिकाई क्षमता परिक्षण गर्नुपर्छ। यदि छोराछोरीको विज्ञान विषय अध्ययन गर्ने ल्याकत छ भने त्यतातिर सोच्नु अन्त्यथा होइन।

एसएलसीपछि विद्यार्थीलाई कुन विषय अध्ययन गर्ने भन्ने अन्यौल हुने गर्छ। एकातिर विधार्थीलाई पेसागत परामर्श दिईएको हुँदैन, अर्कातर्फ परिवारले चाहेको विषय पढ्न दबाब हुने गर्छ।एसएलसीपश्चात् विद्यार्थीमा हुने मानसिक दबाब र त्यसका सम्बन्धमा केहि अनुभव तल प्रस्तुत गरिएको छ।

जब म क्याम्पस अध्ययन गर्थे, एक दिन एक जना मित्रसँग पृथ्वीनारायण क्याम्पसमा भेट भयो। उहाँले आफुले मानविकी अध्ययन गर्नाको कारण यसरी सुनाउनुभयो - 'गाउँमा एसएलसी उत्तीर्ण हुने दुई जना मा म परें। गाउँको स्कुलमा मेरो पढाइ राम्रो नै थियो। सबैले मलाई विज्ञान (आइ एस्सी) पढ्न सल्लाह दिए। मलाई विज्ञान पढ्न सक्छु कि सक्दिन भन्ने लग्यो। कोसिस गरे सकिन्छ भनेर शिक्षकहरुले पनि हौसला दिनुभयो। क्याम्पस पुग्दा त मानविकी पढ्नेको भिड देखेर मानविकीमा गणित पढ्ने पनि विचार आयो। राम्रो भएर नै सबैले मानविकी पढ्न आएको हुनुपर्छ भन्ने मेरो मनमा लाग्यो। मैले सल्लाह लिने खासै मानिस थिएनन्। घरमा बाबु आमालाई सोध्दा जे राम्रो हुन्छ त्येही पढ्नु भन्ने सल्लाह पाएँ। बाबु आमालाई के पढ्दा के हुन्छ भन्ने पनि थाहा थिएन। मेरो क्षमतामा अधिक विश्वास गर्नुहुन्थ्यो। विज्ञान विषय मानविकी भन्दा कठिन र खर्चिलो पनि हुन्छ भन्ने सुनेको थिएँ। फेरि, क्याम्पस पढ्दाको खर्च जुटाउन पनि पर्ने थियो। म अन्यौलमा परें। मलाई निर्णय लिन कठिन भयो। केटाकेटी उमेरमा कहिलेकाहीं निर्णय गर्दा टस गरेको सम्झना थियो। त्यस समयमा पाँच पैसाको एक भागमा गाई र अर्को भागमा त्रिशूल हुन्थ्यो। अनि मैले पनि गाई कि त्रिशूल गर्ने विचार गरें। गाई आएमा विज्ञान पढ्ने, त्रिशूल आएमा मानविकी। टसमा त्रिशूल आयो, अनि मानविकी पढें।'

२०४२ सालको एसएलसी परीक्षाको नतिजा २०४३ सालमा प्रकाशित भएपछि मलाई के अध्ययन गर्ने अन्योल भयो। मेरो दाईले एक वर्षअघि एसएलसी उत्तीर्ण गरेपछि प्रविणता प्रमाणपत्र तह कानुनमा भर्ना हुनुभएको थियो। दाईको कानुनको पढाई देखेर मलाई उति रुचि लागेन। गाउँघरमा विज्ञान पढ्नुपर्ने, वन विज्ञान (भर्खरै सुरु भएको) पढ्नुपर्ने, वाणिज्य पढ्नुपर्ने, मानविकी पढ्नुपर्ने जस्ता सल्लाह र सुझाव धेरैले दिएका थिए। बा शिक्षक हुनुभएको र मेरा गुरुहरुले शिक्षक दु:खी पेसा भएकाले शिक्षा नपढन सल्लाह दिनुभएको थियो। मेरो एसएलसीको प्रतिशत धेरै थिएन। द्वितीय श्रेणीको मध्यम अङ्क थियो। पृथ्वीनारायण क्याम्पसमा फर्म भर्न गएँ। विज्ञान, मानविकी, वाणिज्य र शिक्षामा फर्म भरें। विज्ञान अंग्रेजी भाषाको माध्यममा पढाई हुने, विज्ञानका पुस्तकहरु अंग्रेजी भाषामा हुने, परिक्षा अंग्रेजी भाषामा हुने भएकाले विज्ञान पढ्न अंग्रेजी भाषा राम्रो हुनुपर्ने ठानें। गाउँको स्कुलमा अंग्रेजी विषय जेनतेन पढाइ भएकामा क्याम्पसमा अंग्रेजी भाषाको माध्यममा पढाइ हुनेतिर जाने मन भएन।  विज्ञानमा गर्ने मेहनत शिक्षामा अंग्रेजी भाषा लिएर पढेमा राम्रो हुने सल्लाह अग्रजबाट पाएँ। एसएलसीमा ऐच्छिक गणित पनि पढेको थिइन। विज्ञानको भौतिकशास्त्र, जीवनशास्त्र, गणित विषयमा मेहनत गर्न कठिन ठानें। धेरै विषयमा मेहेनत गरेर उत्तीर्ण मात्र हुनुभन्दा सरल शिक्षाशास्त्र अध्ययन गरें। त्यसैको निरन्तरतामा मा अहिलेको स्थानमा आइपुगेको छु।

वि. सं. २०६३ को एसएलसी नतिजा प्रकाशन भएपछि मलाई मेरा छिमेकीले बोलाउनुभयो। कारण रहेछ छोराले झन्डै विशिष्टतासहित प्रथम श्रेणी हासिल गरेका रहेछन् तर छोरालाई के पढ्ने के भन्ने अन्यौल भएछ। छोरालाई आफूले यति धेरै अंक ल्याएकामा खुशी लागेको रहेनछ बरु धेरै अंक ल्याएकामा पछुतो लागेको रहेछ। एसको कारण उनलाई घरका सबैले, गाउँका सबैले, स्कुलका सबैले विज्ञान पढ्ने दबाब दिएका रहेछन्। यति धेरै दबाब दिएपछि उनि नबोलिकन चूपचाप बसेका रहेछन्। मैले सोधें - 'तिमीलाई के विषय पढ्न मन छ ?' उनले झोक्किंदै भने - 'तपाईंले पनि त्यहि प्रश्न सोध्ने? तपाईंले त यो विषय पढ्नुपर्छ भन्नुपर्ने नि ?' मैले उनको मानसिकता बुझें। उनले फेरि भने - 'म विज्ञान त कुनै हालतमा पढिदनँ। मैले विज्ञान पढ्ने गरी अंक ल्याएको पनि होइन, यो धेरै अंक त कसरी आयो ? यो अंकले त मलाई झन् पिर पो पार्यो।' मैले उनको कक्षा ९ र १० को उपलब्धिलाई विश्लेषण गरें। उनलाई व्यवस्थापन विषय पढ्ने सल्लाह दिएँ।

हाल उनी व्यवस्थापनमा स्नातक पूरा गरी स्नातकोत्तर अध्ययन गर्ने चरणमा लागिरहेका छन्।

मेरा एक जना साथी हुनुहुन्थ्यो, मैले उहाँलाई एसएलसीपछि के विषय अध्ययन गरेको र किन त्यो विषय छानिएको हो भनी प्रश्न गरेको थिएँ। उहाँले मलाई दिएको जवाफ यस्तो थियो - 'म पोखराको छोरेपाटन हाईस्कुलमा अध्ययन गर्थे। एसएलसी उत्तीर्ण भएको दिनदेखि के पढ्ने होला भनेर सोचिरहेको थिएँ। मेरो मस्तिषकमा मेरो स्कुलको अंग्रेजी शिक्षकको अनुहार अगाडि आयो। ठूलो शरीरको ठाडो शीर भएका अंग्रेजी शिक्षकलाई स्कुलमा सबैले उच्च सम्मान दिएका थिए। निजले अंग्रेजी फ़ररर बोल्न सक्ने, विदेशीसंग फ़ररर अंग्रेजी बोल्ने गरेको देख्दा मलाई पनि यस्तै अंग्रेजी बोल्न सक्ने विषय पढ्न मन लाग्यो। स्कुलमा अंग्रेजी पढाउने शिक्षकले अरुको भन्दा बढी तलब पाउने, स्कुलको तलबभन्दा बढी घरमा ट्युसन पढाएर कमाउने भनेको पनि सुनेको थिएँ। एक दिन स्कुलका हेडसरले पनि अंग्रेजी शिक्षकलाई उनले भन्दा पहिला नमस्कार गरेको देखेर अंग्रेजी शिक्षक त साँच्चिकै ठूलो मानिस हुने रहेछ भन्ने निचोड निकालेर अंग्रेजी शिक्षक हुन के पढ़नुपर्ला भनी सोध्दै हिडें। जवाफ पाएँ, शिक्षाशास्त्रमा अंग्रेजी विषय लिएर पढ्ने। अहिले म अंग्रेजी विषयमा एमए र एमएड गरी एमफिल अध्ययन गर्दैछु। अंग्रेजी पढाएर बसेको छु। मलाई एसएलसीपछि के पढ्ने भनेर कसैले सिकाएन। यस्तै अनुभवबाट आफैं निर्णय गरेको हुँ।'

माथिका चारवटा त केवल केही प्रतिनिधि उदाहरण मात्र हुन्। मलाई लाग्छ, एसएलसी परिक्षापश्चात् यस्तो अन्यौल हरेक व्यक्तिमा हुने गर्छ। विद्यार्थीलाई अगाडिको शिक्षाक लागि अभिभावकले छानिदिने हो कि विद्यार्थी स्वोयमले ? एसएलसी परिक्षापश्चात् अध्ययनका लागि विषय छनोटका आधारमा आमाबाबुको चाहना, पारिवारिक माहौल, आफन्त र इष्टमित्रको शैक्षिक परिवेश, विद्यालयका शिक्षकको परामर्श, विद्यार्थीको आफ्नै चाहना मुख्य हुन्।

प्राय: सबै आमाबाबुले आफ्ना सन्तानले चिकित्साशास्त्र वा ईन्जिनियरिङ् अध्ययन गरुन् भन्ने चाहना राखेको पाइन्छ। यसका लागि विज्ञान विषय अध्ययन गर्नुपर्ने हुन्छ। चिकित्साशास्त्र वा ईन्जिनियरिङ् अध्ययन गर्नका लागि गणित, विज्ञान र अंग्रेजी विषयमा विशेष दख्खल हुनुपर्ने छ। उच्चस्तरको सिकाई क्षेत्र भएकाले विशेष क्षमता भएका विद्यार्थीले यी विषय अध्ययन गर्न सक्छन्। त्येसैले, आमाबाबुले आफ्ना सन्तानले विज्ञान विषय अध्ययन गरुन् भन्नु भन्दा छोराछोरीको सिकाई क्षमता परिक्षण गर्नुपर्छ। यदि छोराछोरीको विज्ञान विषय अध्ययन गर्ने ल्याकत छ भने त्यतातिर सोच्नु अन्यथा होइन। विद्वान गार्डनरले आठ किसिमका बौद्धिकता वर्णन गर्दै तार्किक क्षमता भएका व्यक्ति विज्ञान विषय अध्ययन गर्नका उपयुक्त हुन्छन् भनेका छन्। विज्ञान विषय तर्क गर्ने, चिन्तन गर्ने विषय हो। विद्यार्थीले पनि आफ्नो क्षमता र रुचि आकलन गरी कुन विषय अध्ययन गर्ने भनी विश्लेष्ण गर्न सक्छन्।

सबैले बिज्ञान बिषय अध्ययन गरि चिकित्सक वा ईन्जिनियरिङ् भएरमात्र देश संचालन हुदैन। देश विकास गर्न र व्यावास्थितरुपले संचालन गर्न अन्य जनशक्ति पनि आवश्यक हुन्छ । यसका लागि मानविकी, व्यवस्थापन, शिक्षा, कानुनलगायत मध्यमस्तरीय प्राविधिक जनशक्ति आवश्यक हुन्छ।  बिद्यार्थीले आफ्नो रुचिको क्षत्र पहिचान गरि यी बिषय अध्ययन गर्नुपर्छ। यसका लागि अभिभावक, शिक्षक, सहपाठीले बिध्यर्थिलाई उपयुक्त  मार्गदर्शन राय, सल्लाह र सुझाव  दिनुपर्छ। एसएलसी अध्ययनपछिका बिद्यार्थीहरु बिषय छनोटमा अलमल हुने र थरीथरीका सल्लाहले निर्णय लिन नसक्ने अवस्थामा पुगेका छन्। बिज्ञान बिषयमा खर्चिनु पर्ने समय र मेहेनत सामान्य बिषय अध्ययनमा लगाएमा पनि बिद्यार्थीले उच्चस्तरको सिकाई उपलब्धी हासिल गर्न सक्छन। जुनसुकै बिषय पनि महत्वहीन हुदैनन्, भूमिका धेरै र थोरै हुने हो। कुनै बिषय अध्ययनका लागि लामो समय र बढी खर्च लाग्ने पनि छन्। कुनै बिषय अध्ययन गर्ने भन्दा पनि मेहेनत कति गर्छन  भन्ने कुरा महत्वोपुर्न हुने गर्छ।

एसएलसी अध्ययन पछिका बिद्यार्थीलाई उनीहरुको रुची, उनीहरुको वास्तविक क्षमता, ल्याकत र भविस्यमा उनीहरुको चाहेको पेसालाई ध्यान दिएर बिषय छनोट हुन नसकेमा परामर्श, राय, सल्लाह सुझाभ दिनु पर्छ। यस समयमा सही छनोट हुन नसकेमा विद्यार्थीहरु उच्च माध्यमिक तह पूरा गर्न नै नसक्ने र पूरा गरे पनि उच्च अध्ययनमा राम्रो गर्न नसक्ने अवस्था आउने हुँदा यस्ता दुर्घटनाबाट बचाउनु अभिभावक, शिक्षक, सहपाठी र शिक्षाकर्मीको दायित्वो हो।

More Articles