विद्यार्थी नेपालीमा किन कमजोर ?

29 July 2016 Source: eKantipur Articles

नतिजा १

एसएलसी पास गरेका विद्यार्थीले नेपाली विषयमा निवेदन लेख्न, पढ्न जान्दैनन् भन्ने गुनासो बढेको छ । गुनासोलाई एसएलसी २०७२ मा विद्यार्थीले प्राप्त गरेको ग्रेडले पुष्टि गरेको छ । एसएलसीमा नेपाली विषयमा ए प्लस ग्रेड ६३ जनाले मात्र पाएका छन् । त्यस्तै, ए ७ हजार ५ सय ८३, बी प्लस ३३ हजार ८ सय २२, बी ६५ हजार १ सय ५४ छन् । सी प्लस ८६ हजार २५२, सी ९८ हजार ३ सय ६, डी प्लस ७९ हजार २ सय ७४, डी ४३ हजार ६ सय ३३ र ई २३ हजार ४६ छन् ।

नतिजा २

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले राष्ट्रिय स्तरमा विद्यार्थीहरूको सिकाइ उपलब्धि परीक्षण मापन गरेको छ । केन्द्रले परीक्षण गरेमध्ये कक्षा ८ को नेपाली विषयलाई पढाइ, लेखाइ, व्याकरण र शब्दभण्डारका आधारमा औसत सिकाइ उपलब्धि प्रतिशत मापन गरिएको छ ।

विषय क्षेत्र परीक्षण वर्ष २०६८ परीक्षण वर्ष २०७०
पढाइ ५६ ४६
लेखाइ ४८ ४६
व्याकरण ५१ ४९
शब्दभण्डार ४३ ५५

पाठ्यपुस्तकभन्दा फाल्तु विषयलाई समग्रमा गरिएको मापनले एउटै तहका विद्यार्थीको सिकाइ उपलब्धि घटेको देखाएको छ । केन्द्रका सहसचिव डा. लेखनाथ पौडेल विद्यार्थी जति कक्षा चढ्दै गयो उति तयारी कमजोर रहेको बताउँछन् । ‘नेपाली विषयप्रति विद्यार्थी कमजोर देखिनुको प्रमुख कारक शिक्षक हो,’ पढाइ र लेखाइमै कमजोरी पाइएको उल्लेख गर्दै उनी भन्छन्, ‘पाठ कण्ठस्थ गरे सही जवाफ दिन्छन् तर जब सिर्जनात्मक वा स्वतन्त्र लेखन गराउँछौं, त्यतिखेर संगठित रूपमा प्रस्तुत गर्ने सीप कमजोर छ । पढाइ सम्पूर्ण सिकाइको जग हो । पढाइलाई बुझाइभन्दा घोकाइमा बदल्दा कमजोरीले ठाउँ लिएको भन्ने छ ।

सबैलाई लाग्दै आएको पक्ष हो - बोर्डिङ स्कुलका विद्यार्थीको अंग्रेजी तगडा हुन्छ, नेपालीमा केही कमजोर हुन्छ । सरकारी स्कुलमा पढेकाहरू नेपालीमा तगडा हुन्छन्, अंग्रेजीमा कमजोर । प्राय: यस्तै हुने गथ्र्यो विगतमा । तर, बढ्दो सूचना प्रविधिको प्रयोगले त्यो परम्परा तोडिँदै गएको अवस्था छ । गुणस्तर जेसुकै होस् अंग्रेजी दबदबा तीव्रतर गतिमा छ ।

कुरो नेपाली भाषाको हो । शिक्षणमा पाठ्यक्रमको प्रमुख आधार भनेको सुनाइ, बोलाइ, लेखाइ, पढाइ हुन् । विद्यार्थीलाई मापन गर्ने यसैबाट हो । नेपाली विषय आफैंले जटिल बनायौं । भाषा सिकाइ हुनुपर्नेमा विधागत सिकाइ गर्‍यौं । कथा, कविता, निबन्ध, प्रबन्ध बनाएर क्लिष्ट बनायौं । भाषा प्रवद्र्धन गर्दा पहिलो भाषा हुनेले सहज बुझ्ने भए, दोस्रो भाषाका रूपमा नेपाली सिक्ने बालबालिकालाई व्यवहार गर्न जानेनौं ।

पाठ्यक्रम विकास केन्द्र भाषा शिक्षा शाखाका उपनिर्देशक चन्द्रकान्त भुसाल भाषालाई सबैले सिकाउन सक्ने विषयका रूपमा लिइनु नै गल्ती ठान्छन् । ‘योग्यता पुगेका, तालिम लिएका शिक्षकले नै विषयवस्तु मात्र पढाउनुले उपलब्धि नभएको हो,’ उनी भन्छन्, ‘भौगोलिक विविधता, बहुभाषिक, बहुसांस्कृतिक अवस्था नबुझी नेपाली पढाउँदा शिक्षण हुन नसकेको हो ।’

शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाको शब्दमा, नेपाली भाषा जानेकै छ भनेर बेवास्ता गर्दा औपचारिक शिक्षामा औसत सिकाइ कमजोर बनेको हो । सामुदायिक र संस्थागत विद्यालयमा नेपाली भाषाको सिकाइ उपलब्धि हुन नसकेको उनी ठान्छन् । ‘शिक्षकले नेपाली पढाउँदा राई वा थारू केटाकेटीको मातृभाषाको व्याकरण कस्तो छ भनेर ख्यालै नगर्दा सिकाइ र बुझाइ गुणात्मक हुन सकेन,’ उनी भन्छन्, ‘पहिलो भाषा र दोस्रो भाषाका रूपमा नेपाली सिकाइने समूह किटान गरेमात्र प्रभावकारी हुन्छ ।’

बाबुआमा, अभिभावकले नेपाली विषय त हो जानिहाल्छ भनेर सोच्नुले गल्ती हुने गरेको छ ।

‘पाठ्यक्रम पाठ्यपुस्तक निर्जीव वस्तु हो, आफ्नो अनुकूल जीवन्त बनाएर प्रभावकारी ढंगले बालमस्तिष्कमा घुसाउने काम शिक्षकको हो,’ कोइराला थप्छन्, ‘यसो गर्न कुनै पार्टीले रोक्दैन ।’

भक्तपुरको च्यामासिंस्थित बागेश्वरी उच्च माविका नेपाली शिक्षक ज्ञानसागर प्रजापती यसलाई पढाउन नसक्नेलाई भाषा पढाउन दिँदाको परिणाम ठान्छन् । ‘नेपाली विषयलाई महत्त्व नदिई हेलाको दृष्टिले हेरिनु गल्ती हो,’ गणित, विज्ञान र अंग्रेजीमा अतिरिक्त समय दिने तर नेपालीलाई केही होइन भन्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘सुनाइ शिक्षणलाई महत्त्व दिइएको छैन । म स्वयं नेवार हुँ । नेवारको ट, त, ठ, थ उच्चारण अस्पष्ट हुन्छ । त्यसैगरी शेर्पा, तामाङ, राई, मधेसी, गुरुङ, मगरको भाषाको आआफ्नै विशेषता छ । त्यसैले सुनाइ शिक्षणलाई महत्त्व दिनुपर्छ ।’

काठमाडौंको त्यौड माविका नेपाली शिक्षक महेश अधिकारीको मत उस्तै छ । ‘नेपालीमा भाषा शिक्षण हुनुपथ्र्यो तर साहित्य शिक्षण गर्न बाध्य छौं,’ शिक्षा कार्यालयअन्तर्गत विषयविज्ञसमेत रहेका उनी भन्छन्, ‘पढाउनुपर्ने सुनाइ, बोलाइ, पढाइ, लेखाइ हो । तर ‘दोषी चस्मा’ पाठ पढाउँदा पात्र विश्लेषण, मनोविज्ञान, द्वन्द्वजस्ता साहित्य पक्ष पढाइन्छ । पाठ्यक्रमले खोजेको र शिक्षकले पढाएको तालमेल मिलेन ।’

शिक्षक अधिकारीको कथनमा नेपाली विषय पढेर यो बन्छु भन्ने विद्यार्थी लक्ष्य नबन्नु र पारिवारिक दबाब अर्कै विषय बन्ने गरेको छ । समयसापेक्ष पाठ्यक्रम नहुनु अर्को विडम्बना हो । ‘शिशिर र वसन्त’ कथामा सौतेनी आमाले गरेको विभेदको कुरो छ । सौतेनीआमा भएको बच्चाले त्यो पाठ पढेर घर फर्केपछि आफ्नी सौतेनीआमालाई ढुंगाले हान्ने भयो,’ उनी भन्छन्, ‘यस्ता परम्परागत पाठलाई मल्टिमिडियाको कल्पनाको विषय मात्र हुन सक्छ । अर्कोतिर नौटंकी वर्णविन्यासले हैरान तुल्याएको छ ।’

शिक्षकले विद्यार्थीलाई नेपाली विषयमा पाँच अंकको प्रश्न सोध्छ । तर, विद्यार्थीले जतिसुकै राम्रो जवाफ दिए पनि मुस्किलले ३ अंक मात्र दिन्छ । शतप्रतिशत अंक कुनै प्रश्नमा दिँदैन । शतप्रतिशत अंक दिइनुपर्ने व्याकरणमा समेत ह्रस्वदीर्घ केलाएर अंक घटाइन्छ । अर्कोतर्फ नेपाली विद्यालयमा प्राक्टिकल अंक दिने प्रावधान छैन । अन्य प्राक्टिकलमा २५ अंकमा शतप्रतिशत दिने गरिन्छ । त्यसैले पनि नेपालीमा ‘ए प्लस’ ग्रेड कमले पाएको अधिकारी उल्लेख गर्छन् ।

More Articles